३२ वर्षपछि अमेरिकामा फेरि विश्वकप: १९९४ र २०२६ बीच के-के बदलियो?

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकामा दोस्रोपटक फिफा विश्वकप प्रतियोगिता आयोजना भएको हो । अमेरिकाले पहिलोपटक १९९४ मा विश्वकपको सफल आयोजना गरेको थियो । त्यस विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । फाइनलमा रोबर्ट बाजियोले पेनाल्टी मिस गरेपछि ब्राजिलले इटालीलाई हराएर चौथोपटक उपाधि जित्त सफल भएको थियो ।

अहिले ३२ वर्षपछि फेरि विश्वकप अमेरिकामा आयोजना भएको छ । यसपालिको संस्करण आकार, खर्च र व्यावसायिकताको हिसाबले पहिलेको तुलनामा ठूलो बनेको छ । टिकट मूल्यदेखि प्रतियोगिताको आकार, रंगशालाको पूर्वाधार र खेलाडीको सुविधासम्म हेर्दा पछिल्ला तीन दशकमा विश्वफुटबल कति परिवर्तन भएको छ भन्ने स्पष्ट देखिन्छ ।

प्रतियोगिताको आकार लगभग दोब्बर

सन् १९९४ को विश्वकपमा २४ टोली सहभागी भएको थियो । यो नै २४ टोलीको सहभागिता भएको अन्तिम संस्करण पनि थियो । त्यसपछि सन् १९९८ मा टोलीसंख्या बढाएर ३२ पु¥यायो भने अहिले १६ संख्या बढेर ४८ टोलीले खेल्दैछन् । अहिले फाइनल पुग्ने दुई टोलीले ८ खेल खेल्न पाउनेछ ।

टिकटमूल्यमा वृद्धि

यो ३२ वर्षको अन्तरालमा टिकट मूल्यमा धेरै नै वृद्धि भएको छ । १९९४ मा समूह चरणका खेलका टिकट २५ देखि ७५ अमेरिकी डलरसम्म रहेको थियो । क्यालिफोर्नियाको पासाडेनास्थित रोज बाउलमा भएको फाइनलमा टिकट मुल्य १८० देखि ४७५ डलरसम्म थियो ।

तर, २०२६ मा समूह चरणका खेलका टिकट १४० देखि २७ सय ३५ डलरसम्म पुगेको छ । फाइनलको टिकट ४१ सय ८५ देखि ८६ सय ८० डलरसम्म बिक्री गरिएको थियो । पछि फिफाले फाइनलको सबैभन्दा महँगो टिकटको मूल्य बढाएर करिब १० हजार ९ सय ९० डलर पु¥यायो ।

यसपाली पहिलोपटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरिएको छ, जसअनुसार टिकटको मूल्यमाग र लोकप्रियताअनुसार परिवर्तन हुन्छ । यसले आम समर्थकका लागि विश्वकप हेर्न झन् कठिन बनाएको आलोचना पनि भइरहेको छ ।

३ देश आयोजक

सन् १९९४ को विश्वकप अमेरिकाका ९ रंगशालामा मात्र आयोजना गरिएको थियो । तर, २०२६ को विश्वकपमा सहभागिताको संख्या दोब्बर नै भएपछि अमेरिका एक्लै देशले आयोजना गर्न कठिन हुने देखियो । यसैले मेक्सिको र क्यानडालाई पनि आयोजकको रूपमा सामेल गरिएको फिफाले बतायो ।
प्रतियोगिताका लागि १६ रंगशाला प्रयोग हुन्छन् । जसमा अमेरिकाका ११, मेक्सिकोको तीन र क्यानाडाको दुई रंगशाला समावेश छन् । यद्यपि क्वार्टरफाइनलपछि हुने सबै खेल अमेरिकामै खेलाइनेछन् ।

रोचक कुरा के छ भने, १९९४ मा आयोजक शहरमध्येको एक शिकागो यसपटकको सूचीमा छैन । आर्थिक ग्यारेन्टी सम्बन्धी विषयमा फिफासँग सहमति नजुटेपछि शिकागोले आयोजक बन्न अस्वीकार गरेको थियो ।

दर्शकको उपस्थितिमा नयाँ कीर्तिमानको अपेक्षा

सन् १९९४ को विश्वकप दर्शक उपस्थितिको हिसाबले सबैभन्दा सफल विश्वकपमध्ये एक मानिन्छ । ५२ खेलमा कूल ३.५९ मिलियनद र्शक रंगशालामा पुगेका थिए, जसको औसत प्रति खेल झण्डै ६९ हजार थियो ।

यसपटक १०४ खेल हुने भएकाले कूलदर्शक संख्या ६ देखि ७ मिलियनसम्म पुग्ने अनुमान गरिएको छ । यदि त्यस्तो भयो भने विश्वकप इतिहासमा नयाँ कीर्तिमान स्थापित हुनेछ ।

खेलाडीको सुविधा र सुरक्षा

खेलाडीको सुविधा र सुरक्षामा पनिठूलो परिवर्तन आएको छ । सन् १९९४ मा टोलीहरुले अत्याधिक गर्मी बीच कुनै ‘कुलिङ ब्रेक’विना खेल्नुपथ्र्यो । कतिपय खेलमा मौसम नै मुख्य चुनौती बनेको थियो । २०२६ मा पनि सबैभन्दा चुनौतीको विषय गर्मी नै हो । तर, प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’अनिवार्य गरिएको छ । यसले खेलाडीलाई आराम गर्ने अवसर मात्र होइन, प्रशिक्षकलाई पनि रणनीतिक निर्देशन दिने समय प्राप्त भएको छ ।

बढीलचकता

सन् १९९४ मा टोलीहरुले केवल दुई खेलाडी परिवर्तन गर्न पाउँथे । विशेष अवस्थामा मात्र गोलकिपरका लागि अतिरिक्त परिवर्तनको व्यवस्था थियो । अहिले प्रत्येक टोलीले ‘रेगुलर टाइम’मा पाँच खेलाडी परिवर्तन गर्न सक्छन् । खेल अतिरिक्त समयमा पुगेमा छैटौं परिवर्तनको सुविधा छ भने टाउकोमा गम्भीर चोट लागेमा थप परिवर्तन गर्न सकिन्छ । यसले प्रशिक्षकलाई खेलाडीको थकान व्यवस्थापन गर्न र खेलको गति उच्च राख्न सहयोग पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *