फिफा विश्वकपको टिकट मूल्य यतिबेला सर्वसाधारणको पहुँचभन्दा पूर्ण रूपमा बाहिर पुगेपछि विश्वभर तीव्र आक्रोश र फिफाको कडा आलोचना भइरहेको छ ।
अत्यधिक महँगीको मार टिकटमा मात्र सीमित नभएर रङ्गशालाको पार्किङ र यातायात क्षेत्रमा समेत स्पष्ट देखिएको छ । खेल हुने रङ्गशालाहरूमा गाडी पार्किङको शुल्क नै १७५ डलरसम्म तोकिएको छ भने रेल भाडामा समेत भारी वृद्धि गरिएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले इतिहासकै बढी माग भएका कारण सबै टिकट बिक्ने दाबी गरिरहेका बेला एउटा सर्वेक्षणले भने केवल २६ प्रतिशत अमेरिकी मात्र यस विश्वकपप्रति उत्साहित रहेको देखाएको छ ।
यही अत्यधिक महँगीकै कारण अमेरिकाका ११ वटा आयोजक सहरहरूमा होटल बुकिङ समेत अपेक्षा गरिएभन्दा निकै सुस्त छ । खेलकुदको यो महाकुम्भ अचेल आम सर्वसाधारण र वास्तविक फुटबल प्रशंसकका लागि नभई कर्पोरेट हाउस र धनाढ्यहरूको मात्र विशेष उत्सव बन्न पुगेको भन्दै सामाजिक सञ्जालहरूमा सर्वत्र विरोध भइरहेको छ ।
