मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको जनाएकाे छ । यससँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचारिक हस्ताक्षर समारोह शुक्रबार (जुन १९ मा) स्विट्जरल्यान्डमा आयोजना गरिने जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको पुष्टि गरेका छन्। आफ्नो ८०औँ जन्मदिनका अवसरमा जारी वक्तव्यमा उनले हर्मुज जलमार्ग जहाज आवागमनका लागि पूर्ण रूपमा खुला गरिने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाइने घोषणा गरेका छन्।
‘हर्मुज जलडमरूमध्यलाई शुल्कमुक्त रूपमा सञ्चालन गर्न र अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिएको छु,’ ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन्। ट्रम्पको घोषणापछि इरानले पनि अमेरिकासँग भएको नयाँ सम्झौताले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य सञ्चालित टेलिभिजनमार्फत् लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य घोषणा गरिएको बताएका छन्।
यसअघि तेहरानले बेरुतको उपनगरमा इरान समर्थित हिजबुल्लाहमाथि इजरायलले गरेको आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएको थियो। उक्त घटनाले सम्भावित सम्झौतामा असर पार्न सक्ने अनुमान गरिएको थियो।
तर त्यसलगत्तै प्रधानमन्त्री शरीफले सम्झौता भएको घोषणा गर्दै अमेरिका र इरानलाई द्वन्द्वको कूटनीतिक समाधान खोजेकोमा धन्यवाद दिएका छन्। उनले दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्यमा सहमति जनाएको उल्लेख गरेका छन्।
अमेरिका–इरान सम्झौताको स्वागत
यसैबीच विश्वका विभिन्न नेताहरूले अमेरिका–इरान सम्झौताको स्वागत गरेका छन्।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले यसलाई ‘बृहत्तर सम्झौताका लागि महत्वपूर्ण कदम’ भएको बताइन्। उनले समझदारीपत्र (एमओयू) प्रभावकारी रूपमा कार्यान्वयन होस्, हर्मुज जलडमरूमध्यमा स्वतन्त्र र सुरक्षित जलयातायात सुनिश्चित होस् तथा इरानको आणविक कार्यक्रमलगायतका विषयमा अन्तिम सम्झौता छिट्टै होस् भन्ने अपेक्षा व्यक्त गरिन्।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरान र अमेरिकाका नेताहरूलाई बधाई दिँदै यो सम्झौताले अझ व्यापक प्रगतिका लागि मार्ग प्रशस्त गर्न सक्ने बताए। ‘यसले विश्व अर्थतन्त्रलाई नयाँ ऊर्जा दिनुका साथै मध्यपूर्वलाई थप सुरक्षित बनाउने बाटो खोल्न सक्छ,’ उनले भने।
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले हर्मुज जलमार्ग पुनः खुलासहित सम्झौताको शीघ्र कार्यान्वयन हुने आशा व्यक्त गरे। उनले सामाजिक सञ्जाल एक्समार्फत सबै पक्षलाई सकारात्मक गति कायम राख्न आग्रह गर्दै भने, ‘अवस्था अझै संवेदनशील भए पनि दशकौँदेखिका चुनौती समाधानतर्फ यो रचनात्मक कदम हो।’
