पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ ।संयुक्त अरब इमिरेट्स (युएई) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ ।

लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला सहित विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ । सो क्रममा विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूको सूक्ष्म अध्ययन भएको टोलीले बताएको छ ।

निरीक्षण पश्चात् टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि विशेष भेटघाट गरेको छ । भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिए । विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उनले फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्न इच्छुक रहेको बताए  ।

“हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण गर्‍यौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ । हामी पोखरा र दुबईबिच दैनिक उडान सुरु गर्न इच्छुक छौँ” लुकासले भने  ।

भाइस प्रेसिडेन्ट लुकासले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउन र उडान मार्ग सहज बनाउन मेयर आचार्यले खेल्नुभएको समन्वयकारी भूमिका र निरन्तरको पहलकदमीको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे  ।फ्लाई दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो । फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोडिनेछ ।

यसबाट पोखरा संसारका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग सिधा पहुँचमा पुग्नेछ । जसले गर्दा युरोप, अमेरिका, र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहजै पोखरा आउन सक्नेछन् ।

यस उडानलाई मूर्त रूप दिनका लागि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबई एयरलाइन्स कम्पनीका उच्च अधिकारीहरू र उक्त कम्पनीका नेपाली प्रतिनिधिहरू सहित पोखरा महानगरका प्रमुख आचार्यको उपस्थितिमा पटक–पटक उच्च स्तरीय बैठकहरू सम्पन्न भइसकेका छन् ।

लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टा लामो प्राविधिक निरीक्षण र सरोकारवालाहरू बिचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको मेयर आचार्यले जानकारी दिए  ।

पोखरा महानगरका प्रमुख आचार्यले फ्लाई दुबईको यो चासो र अहिलेसम्म भएका प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताउदै पोखरालाई विश्व बजारसँग सिधा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसे ढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गरे ।

उडान सुचारु भएमा गण्डकी प्रदेशका नागरिकहरूलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सिधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *