पूर्वी नेपाललाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गको बाढीबाट क्षतीग्रस्त नेपालथोक–भकुण्डेबेसी खण्डको पुननिर्माण कार्य तीब्र गतिमा भईरहेको छ । २०८१ साल असोजको दोस्रो साता रोसी खोलामा आएको बाढीले नेपालथोक–भकुण्डेबेसी खण्डको करिब २९ किलोमिटर राजमार्गको विभिन्न ठाँउमा भत्काई क्षतीग्रस्त बनाएपछि बिगत एक बर्षदेखि सडकको स्तरउन्नती सहित पुननिर्माणको काम भई रहेको छ ।
सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार क्षतीग्रस्त राजमार्ग मध्ये सिन्धुलीतर्फ एक खण्ड र काभ्रे तर्फ तीन खण्डमा विभाजन गरी ठेक्का लगाई धमाधम पुननिर्माण तथा स्तरउन्नतीको काम भई रहेको छ । सडक चौडा (फराकिलो) गरी राजमार्गलाई दुई लेनको बनाउने काम भई रहेको छ । राजमार्गमा पर्ने पाँच वटा पुललाई पनि दुई लेनमा परिणत गरिने छ ।
सिन्धुलीतर्फ नेपालथोकदेखि बर्षेखोलासम्म पाँच किलोमिटर सडकको पुननिर्माण कार्य ३८ प्रतिशत सकिएको उक्त कार्यालयका प्रमुख पारसमणी हमालले जानकारी दिए । उक्त खण्डमा खरिढुङ्गा/घिसिङ् क्षितिज जेभिले भ्याट सहित ६२ करोड रुपियामा ठेक्का सम्झौता गरी बिगत एक बर्षदेखि पुननिर्माण तथा स्तरउन्नतीको काम गर्दै आएको र २०८४ साल असारसम्म काम सक्नु पर्ने उनले बताए ।
उनले भने , ‘‘यो बर्ष मनसुनमा खोलामा निर्माण गरिएको डाईभर्सन सडक छोडेर हाल धमाधम पुननिर्माण भई रहेकै सडकको ट्रयाकबाट यातायात सञ्चालन गर्ने गरी अहिले काम धमाधम भई रहेको छ । यो बीचमा काममा कुनै अबरोध आएन र मौसमले पनि साथ दियो भने असारको १५-२० गतेदेखि अहिले बनेकै सडकको ट्रयाकबाट यातायात सञ्चालन हुने छ ।’’
यो बर्ष बर्षाको मौसममा रोसी खोलामा बाढी आउदा यातायातका साधन नरोकिने गरी पुननिर्माणको काम धमाधम भई रहेको कार्यालय प्रमुख हमालको भनाई छ । बाढीबाट फेरी क्षती नहुने गरी भत्किएको ठाँउमा आरसिसि वाल, प्लम्ब वाल निर्माण र सडक चौडा गर्ने कामलाई तीब्रता दिईएको छ । आगामी बर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको यो राजमार्गलाई पहिलेभन्दा अझ सुरक्षित र व्यवस्थित हुने गरी पुननिर्माणको काम भई रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बर्षेखोलादेखि डालाबेसीसम्म साँढे पाँच किलो मिटर खण्ड पनु निर्माणको काम जाईका र नेपाल सरकारले सुरु गरेका छन् ।जाईकाले बर्षे खोलादेखि पिप्लेसम्मको तीन दशमलब दुई किमि सडक भर्खर सिलान्यास गरी पुननिर्माणको काम सुरु गरेको छ । जाईकाले नेपाली दुई अर्ब ६० करोड रुपिया लागतमा उक्त सडक पुन निर्माण गर्न सुरु गरेको हो ।
यो खण्डमा बाँकी पिप्लेदेखि डालाबेसीसम्मको दुई दशमलब तीन किलोमिटर सडक पुनर्निर्माणका लागि उमा एन्ड कम्पनी/भण्डारी र अमरज्योती जेभीसँग ६८ करोड ८० लाख रुपियाँमा सम्झौता भएको छ ।
त्यस्तै डालाबेसीदेखि चारसयबेसीसम्मको आठ दशमलब पाँच किलोमिटर सडक पुननिर्माणका लागि लामा/नव कान्तिपुर जेभिसँग एक अर्ब ४२ करोड रुपियाँ र चारसयबेसीदेखि भकुण्डेसम्मको ११ किमि सडक पुननिर्माणका लागि खानी/एवान/कमलजित भेजीसँग एक अर्ब ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । काभ्रेतर्फ तीन वटै खण्डमा हालसम्म ३२ प्रतिशत काम सम्पन्न भएको बताईएको छ ।
जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलब दुई किलोमिटर सडकका लागि जापानको निर्माण कम्पनि सिमुजु कर्पोरेसन वैशाखमा सम्झौता भएको थियो ।
निर्माण कम्पनीले उक्त सडक खण्डको काम २०८४ पुस १६ गतेभित्र निर्माण सम्पन्न गरि सक्नु पर्नेछ । कुल १६० किलोमिटर लम्बाईको बीपी राजमार्ग जापान सरकारको सहयोगमा बि.सं. २०५३ सालदेखि निर्माण सुरु गरी २०७२ सालमा सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण भएको थियो ।
