बर्सेनि नेपालमा गर्मी अनि मनसुन सुरु भए लगत्तै विभिन्न प्रकारका सङ्क्रामक रोगहरू देखिने गर्दछ। यसपटक पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला, सर्पदंश अनि ज्वरोका बिरामीहरू भर्ना हुने र उपचार पछि स्वास्थलाभ गरी फर्कने क्रम चलिरहेको थियो। तर अचानक साउन २८ गते एक २४ वर्षीया युवतीको मृत्यु डेंगु सङ्क्रमणको कारणले हुन पुग्यो।
रगत परीक्षणको प्रोफाइल हेर्ने हो भने डेंगु सङ्क्रमण पोजेटिभ देखिएको भएता पनि आत्तिइहाल्नु पर्ने अवस्थाको सङ्केत भने देखिँदैन। विगतमा पनि यस्ता परीक्षण प्रोफाइल भएका सङ्क्रमितहरू अत्यधिक हुने गर्दथे। अनि केही दिन डक्टरको उपचार/निगरानी/परामर्श पछि विना जटिलता नै स्वास्थलाभ गर्ने गर्दथे।
हामीले पनि डेंगु विशेषतः ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला अनि जो-कोही सङ्क्रमित भएर रगतमा मुख्यतया प्लेटेलेट्सको सङ्ख्यामा तीव्र गिरावट देखिए बढी जोखिम हुने/हुनसक्ने भन्दै आइरहेका छौँ।
तर हाल यस अस्पतालमा मृत्यु भएका डेंगु बिरामी न ज्येष्ठ नागरिक, न त दीर्घ रोगी, न त रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको इतिहास भएका, न त गर्भवती नै वा रगतमा प्लेटेलेट्सको सङ्ख्यामा अति तीव्र गिरावट (कम्तीमा पनि अस्पताल भर्ना गरेर रगत दिनु पर्ने अवस्थामा) नै थियो। अब प्रश्न उठ्छ, त्यसो हो भने सो युवा सङ्क्रमितको मृत्युको कारण के हुन् सक्छ होला ? के काठमाडौँमा परिवर्तित तर घातक डेंगु फैलिएको हो ?
यसको अर्थ कुनै पनि स्वस्थ युवाको मृत्यु डेंगुबाट हुँदै हुँदैन/भएको थिएन भनेर भन्न खोजिएको भने होइन। तर यो/यस्तो ट्रेन्ड (सङ्क्रमित हुनुभन्दा पहिले स्वस्थ सङ्क्रमित युवा मृत्युको ट्रेन्ड) दोहोरियो भने कस्तो अवस्था सिर्जना होला भन्ने हो।तर गत वर्षसम्म आइपुग्दा त्यही डेंगुलाई सामान्य रुघाखोकी सरह मान्न थालिसकेको देखिन्छ। सङ्क्रमित भएता पनि आफ्नो स्वस्थ प्रति खासै संवेदनशील भएको देखिँदैन।
मैले गत वर्ष देखि नेपाली समाजमा (विशेषतः काठमाडौँमा) डेंगु प्रति हेर्ने दृष्टिकोणमा ठुलो परिवर्तन आएको देखेको छु । त्यो भनेको सन् २०१९ मा काठमाडौँले पहिलो पटक ठुलो डेंगु प्रकोपको सामना गरिरहँदा सङ्क्रमण प्रति बढी संवेदनशील भएको तर धेरै मिथ्या/भ्रमहरू फैलिएको देखेको थिएँ।
तर गत वर्षसम्म आइपुग्दा त्यही डेंगुलाई सामान्य रुघाखोकी सरह मान्न थालिसकेको देखिन्छ। सङ्क्रमित भएता पनि आफ्नो स्वस्थ प्रति खासै संवेदनशील भएको देखिँदैन। सङ्क्रमित भए पनि आफ्नो दैनिकी निरन्तरता दिने गरेकोले मैले सो अवस्थालाई ‘वाकिङ डेंगु’ नामकरण पनि गरेको थिएँ।
यो अवस्थालाई मध्यनजर गर्दै मैले डेंगुको प्रारम्भिक लक्षणहरूको प्रचार प्रसारण मात्र गरेर हुँदैन भन्दै आइरहेको छु। अबको दिनहरूमा ‘डेंगुको वार्निंङ सङ्केत’ को जानकारीलाई प्राथमिकताका साथ प्रचार प्रसारण गर्नु पर्ने आवश्यकता औँल्याउँदै पनि आइरहेको छु। यद्यपि आजको मितिसम्म प्रभावकारी प्रचार भएको/गरेको भने देखिँदैन। समय, अवस्था अनि समाजमा रोग प्रति हेर्ने दृष्टिकोणलाई बुझ्दै प्रतिकार्यका लागि अवलम्बन गर्दै आइरहेका उपायहरूमा पनि परिवर्तन गर्न सके रोगबाट हुनसक्ने ठुलो मानवीय क्षतिलाई कम गर्न सकिन्छ।
हाल डेंगुका बिरामी बिस्तारै बढ्दै गइरहेको स्वस्थ मन्त्रालयले नियमित प्रकाशित गर्ने तथ्याङ्कहरूले देखाउँदछ। सम्भवतः यो निरन्तरको वर्षामा केही दिनको ब्रेक लागेमा लामखुट्टेले आफ्नो वृद्धि विकास तीव्र गतिमा गर्न सक्ने अनि फलस्वरूप डेंगु भाइरस फैलन सक्ने सम्भावना उच्च छ। दसैँ नजिकिँदै गर्दा डेंगु प्रकोपको जोखिम पनि बढ्दै गइरहेको छ। दसैँतिहारतिर डेंगुको प्रकोप देखिने ट्रेन्ड विगत देखिकै हो। गत वर्ष काठमाडौँमा धेरैले नाक, गिजा वा महिलामा (महिनावारी नहुँदा) योनट्ठबाट (अत्यधिक) रगत बग्ने समस्याहरू देखिएका थिए।
माथि उल्लेख गरे झैँ ‘वाकिङ डेंगु’ को अवस्थामा धेरै घर घरमा रहने भएकोले डेंगुबाट हुने मृत्युदर घटाउने उपाय मध्ये ‘डेंगुको वार्निंङ सङ्केत’ को प्रचार व्यापक गर्नु सबैभन्दा उपयुक्त देखिन्छ। किनभने ‘डेंगुको वार्निंङ सङ्केत’ देखेपछि डेंगु घातक हुने सम्भावना अत्यधिक बढेर जाने गर्दछ।
‘डेंगुको वार्निंङ सङ्केत’ लाई दुई भागमा विभाजित गर्न सकिन्छ। एउटा सङ्क्रमित भएर घरमा बसिरहेको अवस्थामा देखिने सङ्केतहरू र दोस्रो भनेको अस्पतालमा गरिने जाँच पडताल पछिको अवस्था हो। निरन्तर बान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक-गिजाबाट रगत बग्नु, अत्यधिक आलस्य हुनु जस्ता सङ्केत/लक्षणहरू सङ्क्रमितले घरमा बसेर थाहा पाउने डेंगु वार्निंङका सङ्केतहरू हुन्।
गत वर्ष काठमाडौँमा धेरैले नाक, गिजा वा महिलामा (महिनावारी नहुँदा) योनट्ठबाट (अत्यधिक) रगत बग्ने समस्याहरू देखिएका थिए। यसबाट पनि घातक डेंगु भुसको आगो झैँ फैलिरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। हाल मृत्यु भएका बिरामीमा पनि तारन्तार बान्ता भएको थियो जुन डेंगु वार्निंङ सङ्केतको रूपमा मान्न सकिन्छ।
यस्ता समस्याहरू देखिए सङ्क्रमित अस्पतालमा गएर थप परीक्षण गर्नुपर्ने हुन्छ। भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) र छातीको एक्स-रे गर्दा पेट तथा छातीमा पानी जमेको देखिने अनि रगतको परीक्षणमा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा घटेको देखिने गर्दछ। त्यस्तै कलेजोको आकार पनि सामान्य भन्दा बढेको देखिन्छ।
स्मरण रहोस्, कोभिड-१९ पनि विशेष गरेर ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई उच्च जोखिम हुन्छ भन्दै गर्दा यो अनुमानको ठिक विपरीत दोस्रो डेल्टा लहरमा सङ्क्रमित हुनुभन्दा अगाडि स्वस्थ रहेका धेरै युवाहरूले मृत्युवरण गर्नु परेको तथ्याङ्क अझै ताजै छ।
यदि यस्ता समस्याहरू देखिएमा यसलाई डेंगु वार्निंङ सङ्केतको रूपमा लिनु पर्दछ। विशेषतः घरमा सङ्क्रमित भएर बसिरहेको बेला थाहा पाउन सकिने सङ्केतहरूको बारेमा व्यापक प्रचारको जरुरत देखिन्छ। यद्यपि कतिपयमा जटिल डेंगुको लागि ‘डेंगुको वार्निंङ सङ्केत’ अनिवार्य (शत प्रतिशतमा) हुनुपर्छ भन्ने चाहिँ होइन।
अन्त्यमा, हाल एक स्वस्थ रहेको युवा सङ्क्रमित भएर मृत्यु हुनु भनेको डेंगु घातक हुँदै गइरहेको सङ्केतको रूपमा लिन सकिन्छ। हाल लामखुट्टे नियन्त्रण अभियान फितलो हुँदै गर्दा तपाईँ हामी जो कोही डेंगु सङ्क्रमणको उच्च जोखिममा छौँ।
विशेषतः ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला अनि सङ्क्रमित भएपछि रगतमा मुख्यरुपमा प्लेटेलेट्सको सङ्ख्यामा तीव्र गिरावट देखिए जटिल डेंगुको जोखिम बढी हुने भन्ने तथ्यलाई चुनौती दिँदै जोकोही सङ्क्रमितको लागि पनि घातक हुनसक्छ भन्ने सन्देश हाल मृत्यु भएको बिरामीले दिएको छ।
स्मरण रहोस्, कोभिड-१९ पनि विशेष गरेर ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई उच्च जोखिम हुन्छ भन्दै गर्दा यो अनुमानको ठिक विपरीत दोस्रो डेल्टा लहरमा सङ्क्रमित हुनुभन्दा अगाडि स्वस्थ रहेका धेरै युवाहरूले मृत्युवरण गर्नु परेको तथ्याङ्क अझै ताजै छ। कतै कोभिड-१९ को यही अवस्था डेंगुमा पनि देखिने त होइन ?
(पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
