मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढ्न थालेका छन् । पछिल्लो केही दिन यता ज्वरोको समस्या लिएर विभिन्न अस्पतालमा जाने बिरामीको सङ्ख्या पनि बढ्दो छ । राजधानीका कान्ति बाल अस्पताल, ललितपुरको, पाटन अस्पताल, काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगायतका अस्पतालमा भाइलर ज्वरोका बिरामी आउने क्रम बढ्दो छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सीमा दिनमा आठ १० जना बिरामी ज्वरोको समस्या लिएर आउने अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार , “केही सयमदेखि अस्पतालको इमर्जेन्सी, बहिरंग (ओपिडी) मा ज्वरोका बिरामी बढ्दै गएका छन् । ज्वरोका बिरामीको भर्नादर पनि बढी नै छ ।”
त्यस्तै, कान्ति बाल अस्पतालका अनुसार अस्पतालमा भाइरल ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेकाे छ । अस्पताल भन्छ “भाइरल ज्वरोका बिरामी ह्वातै नबढे पनि फाटफुट्टा अस्पतालमा बिरामी आइरहेका छन् । अस्पतालमा नआएपनि प्रायः भाइरल ज्वरोका बिरामी घरमा नै आराम गर्ने गर्छन् ।”
मौसम परिवर्तन हुँदा भाइरल ज्वरोका बिरामी बढ्ने गरेकाे बताइन्छ । यो मौसममा वातावरणमा भाइरस बढी सक्रिय हुने हुँदा भाइरसजन्य रोगको जोखिम बढ्ने गर्छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा अन्य मानिसको तुलनामा ज्वरोको समस्याले बालबालिकालाई दुःख दिन्छ ।
ज्वरो के हो ?
बिज्ञहरू का अनुसार ज्वरो आफैमा रोग होइन । ज्वरो आउनुका मुख्य कारण भाइरस, ब्याक्टेरिया, निमोनिया, टाइफाइड, पिसाबको सङ्क्रमण आदि रहेको छ । शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइटभन्दा माथि भएमा ज्वरो आएको मानिन्छ । ज्वरोसँगै जिउ, घाँटी दुख्ने, आँखा रातो हुने, रुघा लाग्ने जस्ता लक्षण देखिएमा भाइरलजन्य सङ्क्रमणको कारणले ज्वरो आएको हुन सक्ने छ । भाइरल ज्वरो विशेषगरी, पाँच देखि सात दिनमा आफै निको हुँदै जान्छ । कुनै बेलामा अन्य लक्षण नदेखिई ज्वरो मात्र आउने गर्छ ।
शरीरको तापक्रम १०० डिग्री फरेनहाइटभन्दा बढी भएमात्र प्यारासिटामोल खान उपयुक्त हुन्छ । भाइरस सङ्क्रमण भएको समयमा ज्वरो कम गर्ने प्यारासिटामोल, झोलिलो खानेकुरा खाएर घरमा नै आराम गरेमा ज्वरो पाँचदेखि सात दिनमा आफै निको हुँदै जाने छ । भाइरसजन्य रोगको सङ्क्रमण हुँदा आफुखुसी जथाभाबी एन्टिवायोटिक वा अन्य प्रकारका औषधी किनेर नखान अस्पतालकाे सुझाव छ ।
कस्तो अवस्थामा अस्पतालमा लैजाने
यदि, बच्चाको ज्वरो १०२(१०३ डिग्री फरेनहाइटभन्दा घटेन, सास फेर्न गाह्रो भएमा, सास छिटो छिटो फेरेमा, नाकको फोरा धेरै चलेको छ भने, तारन्तार वान्ता भएमा, पेट फुल्ने, जिउ आलस्य भएमा, खाना मन नगर्ने जस्ता गम्भीर लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजान बिज्ञकाे सुझाव छ । यदि पाँच देखि सात दिनमा आफैं निको हुँदै गएन भने परीक्षण गरेर मात्र औषधी खुवाउन पर्छ ।
सङ्क्रमण हुन नदिन के गर्ने
भाइरलज्वरो लाग्नबाट बच्न सावधानीका उपाय अपनाउन पर्छ ।बच्चालाई पोषिलो झोलिलो खानेकुरा खाना दिने , आराम गराउनुपर्छ । साथै, सरकारले दिएका नियमित खोप लगाउनाले बच्चामा रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्छ । बालबालिकालाई रोग लाग्नबाट बचाउन सङ्क्रमित बालबालिकाबाट टाढै राख्ने, ज्वरो, रुघाखोकी लागेमा विद्यालय वा खेल्ने ठाउँमा नपठाउने, भिडभाडमा नलैजाने, लैजानै परेमा माक्स लगाएर मात्र लैजान सुझाव छ ।
भाइरलजन्य रोगबाट बचाउन व्यक्तिगत सरसफाइमा ध्यान दिने, नियमित रूपमा साबुन पानीले हात धुन लगाउने, प्रशस्त पानी, सुप र जुस लगायतका पोषिलो झोलिलो खानेकुरा खुवाउने । भिडभाडमा नलैजाने, सन्तुलित र पौष्टिक खाना खुवाउने।
