पोखरा महानगरपालिकाले अनधिकृत संरचनामा डोजर चलाउन शुुरूगर्याे

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको करिब मध्य भाग हुँदै बग्ने फिर्केखोला आठ किमी लामो छ । महानगरका वडा नम्बरहरू २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केको बहाव क्षेत्र(खोलाघर)लाई नै मिचेर एक सय ६० भन्दा बढी संरचना बनेका छन् । त्यसरी खोलामाथि नै बनेका संरचनाहरु पोखरा महानगरले आजबाट हटाउने अभियान सुरुवात गरेकाे हाे।

महानगरले गठन गरेको सीमाङ्कन टोलीले २०८० मा तयार पारेको प्रतिवेदनमा खोलाघर मिचेर एक सय ६० अस्थायी र स्थायी संरचना बनेको देखाएको छ । महानगरपालिकाले फिर्केखोलाको खोलाघर खाली गर्न ३५ दिने सूचना जारी गरेकोमा हिजाे शनिबार समयसीमा सकिएको छ । सूचनाको समय सकिएपछि आज  बिहान १० बजेबाट फिर्केको अतिक्रमण हटाउने अभियान थालनी गरिएकाे हाे  ।

महानगरले आज  तीन स्थानबाट सँगसँगै संरचना हटाउन डोजर लगाउने तयारी गरेको छ ।  पोखरा वडा नम्बर २ र १८ को सिमाना अधेरीकुनादेखि सुरु गरी वडा नं ४ तर्फ एउटा जेसिबी परिचालन गरिनेछ । खोलाको करिब मध्य भागमा पर्ने पोखरा ४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ आउने  गरी दुई एक्साभेटर र एक जेसिबी चलेका हुन् ।

यसैगरी, पोखरा ७ र ८ को सिमाना जिरोकिमीस्थित लायन्सको भवनबाट सुरु गरी वडा नं ६ तर्फ आउने गरी दुई एक्साभेटर, एक जेसिबी र एक टिप्पर परिचालन गरिएका छन् । पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीले २०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाइने बताइन्  ।

लायन्स क्लबले पूरै खोला मिचेर बनाएको जिरोकिमीको भवन भत्काएर नगर प्रमुख धनराज आचार्यले अभियान थालनी गरे  । अतिक्रमित संरचनामा डोजर चल्ने भएपछि सम्बन्धित वडाध्यक्षहरुलाई संयोजन गर्ने जिम्मेवारी तोकिएको छ । महानगरले सूचना निकालेपछि केही व्यवसायी र व्यक्तिले संरचना खाली गरिसकेका  छन् ।

कतै फराकिलो खोला कतै यति साँघुरो छ कि ह्युमपाइम राखेर त्यसमाथि संरचना बनाइएका छन् । खोला अतिक्रमण गरी भवन, संरचना बन्दा एकातिर जोखिम बढेको छ भने अर्कातिर फेवातालमा फोहोर, ढु्ङ्गा, माटो पुगेर तालसमेत पुरिँदै गएको छ । पहिलो चरणमा महानगरले खोलाको बहाव क्षेत्र (खोलाघर) खाली गर्ने र दोस्रो चरणमा मापदण्डनै कायम गरी त्यसको सौन्दर्यकरणको योजना गरेको महानगर प्रमुख आचार्य बताउछन् ।

“खोलाको घर नै बन्द गरी बनाइएका संरचना हटाउन लागेका हौं” प्रमुख आचार्यले भने , “अहिले खोलघर छुट्याउँदै छौँ । पछि मापदण्डसमेत कायम गरी यसलाई फिर्के करिडोरका रुपमा विकास गरी पर्यटनकीय स्थल बनाउने योजना छ ।” महानगरले दुई वर्षअघि नै फिर्केको खोलाघरमा पोल गाडिसकेको थियाे ।

खोलाघरमा बसोबास गर्दै आएका ४० घर जति सुकुमबासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भएको छ । महानगरले पछिल्लो पटक जारी गरेको खोलाहरुको मापदण्डमा फिर्केखोलाको मापदण्ड छ मिटर कायम गरिएको छ । यसअघि २०८० सालको ७ महिना १० गते नै महानगरले ३५ दिने सूचना जारी गरी फिर्केको खोलाघर खाली गर्ने तयारी गरेको थियो । स्थानीयले अदालतमा मुद्दा दायर गरेपछि रोकिएको  काम अदालतले महानगरकै पक्षमा फैसला गरेपछि फेरि सुरु गर्न लागिएको हो ।

फिर्केको खोलाघर व्यक्ति, सङ्घ, संस्थादेखि सुकमबासीसम्मले अतिक्रमण गरेका छन् । पोखरा–८, सिमलचौरमा रहेको लिटिल स्टेप माध्यमिक विद्यालयका दुई भवन खोलाघरमै देखिएका छन् । पोखरा ८ मै रहेको पोखरा इन्जिनियरिङ कलेजको एउटा भवन पनि फिर्केकै बहाब क्षेत्रमा छ । १८ वटा संघ, संस्थाका स्थायी संरचना खोलाघर नै मिचेर बनेका छन् ।

कतिपय संरचना शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय संरचनाको आंशिक भाग खोलाघरमा पर्छ  । खोला मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० सङ्घ, संस्थाका अस्थायी र १८ संघसस्थाका स्थायी संरचना बनेको प्रतिवदेनमा उल्लेख छ । त्यहाँका घर, समाजघर आदिले फोहोर वस्तु र फोहोर पानीदेखि ढलसमेत खोलैमा फाल्ने गरेका छन् । खोलाघरमै बनेका संरचनामा वडा, महानगर, प्रदेश र संघ सरकारले समेत लगानी गरेको देखिएको छ ।

महानगरको सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ पोल गाडेको थियो । पोल गाड्न सम्भव नभएका ठाउँमा इनामेलले चिन्ह लगाइएकोमा अधिकांश चिन्ह मेटिइसकेका छन् । फिर्केखोलामा पटक पटक सीमाकन र नक्साङ्कन भएका छन् । तर कार्यान्वयन नहुँदा फिर्के निरन्तर अतिक्रमणको चपेटामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *