संयुक्त राज्य अमेरिका र इरानबिचको सैन्य तनाव थप चुलिएको छ । अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ ।
यसबिच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ । इरानी सरकारी सञ्चार माध्यमका अनुसार खमेनीलाई मशहदस्थित इमाम रेजा मन्दिर परिसरको स्मारक हलमा दफन गरिएको हो ।
अन्त्येष्टिका क्रममा हजारौँ समर्थक सडकमा उत्रिएका थिए । धेरैले शिया परम्परामा प्रतिशोधको प्रतीक मानिने रातो झण्डा बोकेका थिए । राजधानी तेहरानबाट मशहदसम्मको रेल सेवा अमेरिकी आक्रमणका कारण मार्गमा क्षति पुगेको भन्दै अस्थायी रूपमा स्थगित गरिएको पनि सरकारी टेलिभिजनले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन संवाद गर्नुभएको नेतान्याहुको कार्यालयले जनाएको छ ।
दुवै देशबिच विभिन्न क्षेत्रमा निरन्तर समन्वय भइरहेको पनि कार्यालयको भनाइ छ । इरानी सञ्चार माध्यमले बुसेहर बाहिर रहेको सैन्य मुख्यालय अमेरिकी-इजरायली क्षेप्यास्त्रको निशानामा परेको दाबी गरेका छन् । यद्यपि एक अमेरिकी रक्षा अधिकारीले हाल अमेरिकाले इरानमाथि नयाँ आक्रमण नगरेको स्पष्ट पारेका छन् ।
इरानले बहराइन, कुवेत र कतारस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ । अमेरिकी रक्षा अधिकारीका अनुसार ती अधिकांश आक्रमण रोकिएका वा प्रभावहीन बनेका कारण कुनै अमेरिकी सैनिक हताहत भएका छैनन् । बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएपछि हवाई आक्रमणको साइरनसमेत बजाइएको थियो ।
यसैबिच इजरायली रक्षामन्त्री इजरायल काट्जले आवश्यक परे इरानविरुद्धको सैन्य अभियान अझ बलियो रूपमा पुनः सञ्चालन गर्न सेना पूर्ण तयारी अवस्थामा रहेको बताउनुभएको छ । जोर्डनले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ इरानी क्षेप्यास्त्र खसालिएको जनाएको छ । सरकारी अधिकारीका अनुसार उक्त घटनाबाट कुनै मानवीय वा भौतिक क्षति भएको छैन ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा भएका अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु र ७८ जना घाइते भएका छन् । दक्षिणी होर्मोजगान प्रान्तको सिरिक बन्दरगाहमा भएको छुट्टै अमेरिकी आक्रमणमा थप तीन जनाको मृत्यु र १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
उता विश्व शेयर बजारले भने तनावबिच पनि सकारात्मक प्रतिक्रिया देखाएको छ । अमेरिकी प्रविधि कम्पनीको शेयरमा सुधार आएपछि नास्डाक सूचकाङ्क १.३ प्रतिशतले बढेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ । एएफपी
