ट्रम्प र पेजेस्कियनद्वारा बेग्लाबेग्लै हस्ताक्षर

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गरेका हुन  । अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको क्षति भोगेको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साइल्स दरबारमा बुधबार आयोजित रात्रिभोजमा शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गरेका हुन  । त्यसलगत्तै इरानका राष्ट्रपति पेजेस्कियनले तेहरानमा डिजिटल हस्ताक्षर गरेकाे अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । शान्ति सम्झौताले शत्रुताको स्थायी अन्त्यको आह्वान गरेको छ ।

भर्साइल त्यही दरबार हो, जहाँ शताब्दीयौँदेखि युद्ध वा क्षेत्रीय विवादहरू अन्त्य गर्न धेरै ऐतिहासिक सम्झौतामा हस्ताक्षर भइसकेका छन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई छेउमा राखेर शान्ति सम्झौताको प्रतिलिपिमा हस्ताक्षर गरे र  त्यसपछि ट्रम्पले कागजात , कलम अमेरिकाका विदेशमन्त्री मार्को रुबियोलाई हस्तान्तरण गरे  । अनि रात्रिभोजमा उपस्थित भएका सबैले ताली बजाए । रात्रिभोजबाट बाहिरिँदै गर्दा राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको पुष्टि पनि गरे  ।

यसअघि शुक्रबार स्विजरल्यान्डको जेनेभामा दुवै देशका प्रतिनिधिहरूले शान्ति सम्झौतामा हस्ताक्षर गर्नेसम्बन्धी समाचार सम्प्रेषण गरेका थिए । तर ट्रम्पले फ्रान्समा सम्पन्न जी–७ सम्मेलनकै क्रममा सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूकै रोहबरमा हस्ताक्षर गरेका हुन । ‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबिचको इस्लामावाद समझदारी’ नाम दिइएको उक्त शान्ति सम्झौतामा १४ वटा बुँदा दिएर विभिन्न सहमति गरिएका छन् । शान्ति सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा संवर्धित युरेनियमको भण्डारलाई घटाउने र इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । दुवै देशद्वारा सार्वजनिक गरिएका विवरण अनुसार यसले इरानलाई तत्कालै आफ्नो तेल स्वतन्त्र रूपमा बिक्री गर्न अनुमति दिएको छ । राष्ट्रपति ट्रम्प र राष्ट्रपति पेजेस्कियनले शान्ति सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी भइरहेको विभिन्न समाचार माध्यमले जनाइएका छन् ।

स्विजरल्याण्डमा वार्ताको तयारी

रोयटर्सका अनुसार शुक्रबार स्विजरल्याण्डको बुर्गेनस्टक माउन्टेन टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ । वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन । त्यहाँको विदेश मन्त्रालयले पश्चिम एसियाको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रपति ट्रम्प र राष्ट्रपति पेजेस्कियनले दुई देशबिचको शत्रुता अन्त्य गर्ने, हर्मुज जलमार्ग पुन: खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न ६० दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गरेको सिएनएनले जनाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले अमेरिका र इरानबिचको शान्ति सम्झौतामा दुवै देशका नेताले विद्युतीय हस्ताक्षर गरेको जनाउँदै यसको प्रभाव तत्काल देखिन थालेको बताए  ।  सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री सरिफले उक्त शान्ति सम्झौतामा अमेरिका र इरानका राष्ट्रपतिले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गरेका छन्  ।

इस्लामाबाद एमओयुले इरानले तुरुन्तै हर्मुजको जलमार्ग पुन: खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले अमेरिकाले शान्ति सम्झौताको कार्यान्वयनपछि प्रारम्भिक चरणमा हर्मुज जलमार्गबाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गरे  ।

सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौतामा भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको सरिफले बताए  । पाकिस्तानले सहमध्यस्थकर्ता कतारको सहयोगमा शुक्रबार स्विजरल्याण्डमा सम्झौताको सम्झना गर्न र दुई पक्षबिच प्राविधिक स्तरको वार्ता सुरु गर्न आधिकारिक समारोहको आयोजना गर्ने उनले पुष्टि गरे  ।

प्रधानमन्त्री सरिफले कतारको सहमध्यस्थकर्ताको नेतृत्वको रचनात्मक संलग्नतालाई स्वीकार गर्दै सम्झौतालाई सहज बनाउन साउदी अरेबिया, टर्की र इजिप्टको योगदानको समेत प्रशंसा गरेका छन् । उनले यो शान्ति सम्झौताले बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिका लागि स्थायी आधारका रूपमा काम गर्ने आशासमेत व्यक्त गरेका छन् ।

इरानको सरकारी समाचार संस्था इर्नाले जनाए अनुसार राष्ट्रपति  पेजेस्कियनले इरानका तर्फबाट शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्  । सो समाचार संस्थाले पेजेस्कियन र ट्रम्पको हस्ताक्षरसहितको शान्ति सम्झौतापत्र पनि सार्वजनिक गरेको छ ।

विश्व बजारमा उत्साह

अमेरिका र इरानका राष्ट्रपतिले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै विश्ववासीले राहतको अनुभव गरेका छन् । बजारमा उत्साह देखिएको छ ।  करिब चार महिना लामो युद्ध समाप्त हुने र रणनीतिक रूपमा महत्वपूर्ण  हर्मुज  जलमार्ग पुन: खुल्ने निश्चित भएपछि विश्वव्यापी आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । इरानी तेल बजारमा फर्कने र आपूर्ति शृङ्खला सहज हुने आशामा तेलको मूल्य  न्यून विन्दुमा झरेको छ । विश्वव्यापी सेयर बजारमा उत्साह थपिएको छ । युद्ध अन्त्यको खबरले लगानीकर्ताको आत्मविश्वास बढाउँदा विश्वभरका प्रमुख सेयर बजारहरू ऐतिहासिक उचाइतर्फ अगाडि बढेका छन् । हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा विश्वव्यापी व्यापार मार्ग स्थिर हुने छ । यसले गर्दा इन्धनको ढुवानी लागत घट्ने र युद्धका कारण बढ्दै गएको वैश्विक आर्थिक मन्दी तथा महँगीको खतरा टर्ने विश्वास विश्लेषकहरूले गरेका छन् ।

शान्ति सम्झौताका मुख्य बुँदा 

  •    सैन्य कारबाहीको अन्त्य : लेबनान लगायत सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने ।
  •   सार्वभौमसत्ता : एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।
  •   अन्तिम सम्झौताको समयसीमा: अधिकतम ६० दिनभित्र वार्ता गरी विस्तृत सम्झौता गर्ने । म्याद थप गर्न सकिने ।
  •   जहाजहरूको आवागमन : युद्धपूर्वकै अवस्थामा जहाजहरूको आवतजावत पुन: सुचारु गर्ने ।
  •   हर्मुज जलमार्ग : पर्सियन खाडीबाट ओमानको समुद्र तर्फ ६० दिनसम्म बिनाशुल्क व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने ।
  •   पुनर्निर्माण योजना : इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा तीन सय अर्ब अमेरिकी डलरको निश्चित योजना विकास गर्ने ।
  •   प्रतिबन्धको पूर्ण अन्त्य : संयुक्त राष्ट्रसङ्घका प्रस्तावसहित  इरानविरुद्धका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने ।
  •   आणविक हतियार निषेध : इरानले आणविक हतियार खरिद वा विकास नगर्ने प्रतिबद्धता पुन: गर्ने ।
  •   यथास्थिति कायम : अन्तिम सम्झौता नभएसम्म इरानको आणविक कार्यक्रम र अमेरिकाको सेना परिचालन यथास्थितिमा रहने ।
  •   निर्यात र बैङ्किङ छुट : इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ र सम्बद्ध बैङ्किङ/बिमा सेवाहरूका लागि अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने ।
  •   रोक्का सम्पत्ति फुकुवा : यो शान्ति सम्झौताको कार्यान्वयनसँगै इरानको रोक्का रहेका सम्पूर्ण कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने ।
  •   अनुगमन संयन्त्र : शान्ति सम्झौताको कार्यान्वयन र भविष्यको सम्झौताको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *