उनले ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाह चरित्र पुन: छर्लङ्ग भएको बताएका छन् । रावल लेख्छन्, ‘भेलामा आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रुपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई ‘अनुभवहीन’ र ‘लालगेडी’ जस्ता होच्याउने विशेषण प्रयोग गरी आलोचना गरिएछ । महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने घोषणा गरिनुका साथै पार्टीमा अध्यक्ष हुने प्रयास गरिएमा ‘भीम रावलको जस्तो हालत हुने धम्की समेत दिइएछ । यसबाट केपी ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाही चरित्र पुनः छर्लङ्ग हुँदैन र ?’
आफू केपी ओलीसँग किन प्रतिस्पर्धामा उत्रिएको थिएँ भन्ने विषयमा पनि उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ओलीले नै आफूलाई जनताको बहुदलीय जनवादका विषयमा राखेको फरक मतले स्पष्टीकरण सोधिएको प्रष्टिएको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘मैले जनताको बहुदलीय जनवादको मान्यता अनुरुप दशौं महाधिवेशनमा विधि र प्रणाली अनुसार काम र सबै प्रतिनिधिहरुलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ। त्यसरी उम्मेदवारी दिएको तथा धारणा र विचार उक्त मान्यता अनुरूप राखेको कारणले नै मलाई कथित स्पष्टीकरण सोधिएको र मैले पार्टीबाट बाहिरिनु परेको तथ्य स्वयं केपीबाट नै बालुवाटारमा स्वीकार गरिएको छ ।
यसबाट मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रुपमा लिनेहरुले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रष्ट भयो होला नि?’ रावल भन्छन्, ‘सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि पनि छुरी चलाउन केपी ओली उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि ?’
