अलास्कामा शुक्रबार भएको ट्रम्प-पुटिनको भेटवार्ता असफल

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अलास्कामा शुक्रबार भएको ट्रम्प-पुटिनको भेटघाट यति बेला चौतर्फी चर्चाको विषय बनेको छ। रुस-युक्रेन युद्धविरामबारे सहमति गर्ने अपेक्षा गरिएको थियो । तर वार्तामा युद्धविरामबारे सहमति भएको खुलेको छैन। ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भएको २४ घण्टामै युद्धविराम गर्ने घोषणा गरेका थिए ।

उनी निर्वाचित भएपछि पुटिनसँग पहिलो भेट भएको हो। तर ट्रम्पको चुनावी घोषणाबमोजिम कुनै सहमति भने भएन। बरु वार्ताकै क्रममा रुसले युक्रेनमाथि ठुलो मात्रामा हवाई आक्रमण गर्‍यो । शुक्रबारदेखि रुसले युक्रेनमाथि ठुलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एक ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको थियो ।

वार्तामा के भयो ?

ट्रम्प र पुटिनबीचको वार्ता ६/७ घण्टासम्म चल्न सक्ने भनिएको थियो। तर वार्ता ३ घण्टामै टुङ्गियो । बन्द कोठामा भएको वार्तामा ट्रम्पसँगै मार्को रुबियो र विट कफका साथै केही अन्य अधिकारीहरू थिए । रुसी पक्षमा पुटिनसँगै सर्गेई लाभरोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ थिए।

यद्यपि, बैठकमा दुवै पक्षबीच कुनै ठोस सहमति भने हुन सकेन । छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताए । ‘केही प्रगति भएको छ । धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,’ ट्रम्पले भने । तर के-के बुँदामा सहमति भयो भन्ने बारे भने उनले खुलाएनन् ।

 त्यस्तै, पुटिनले पनि केही बुँदामा सहमति भएको बताए। तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने, ‘हामी अपेक्षा गर्छौँ कि किभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्ने छैनन्।’ वार्तापछिको पत्रकार सम्मेलनमा उनीहरूले पत्रकारका प्रश्नहरूको सम्बोधन गरेनन् । उनीहरू आफ्ना कुरा राखेर मञ्चबाट निस्किए ।

ट्रम्प रिझाइरहे, पुटिनले अडान छाडेनन्

यो भेट २०१९ पछिको पहिलो भेट हो । ट्रम्प र पुटिनले २०१९ पछि पहिलो पटक आमनेसामने भेटेका हुन्। यसपटक ट्रम्प पुटिनप्रति निकै नम्र देखिए । पुटिनको स्वागतदेखि पत्रकार सम्मेलनमा देखाएको नम्रताले उनी पुटिनलाई चिढाउन चाहँदैनन् भन्ने प्रष्ट हुन्छ। तर विश्लेषकहरू ट्रम्पले पुटिनलाई थप शक्तिशाली बनाएको दाबी गर्छन् ।

दशकपछि अमेरिकी भूमिमा पुगेका पुटिनलाई लडाकु विमान र रेड कार्पेटद्वारा स्वागत गरिएको थियो । त्यस्तै, वार्ता पछिको पत्रकार सम्मेलनमा पनि पुटिनलाई पहिले बोल्ने दिइएको थियो। पुटिनले यो अवसरको सदुपयोग गर्दै युक्रेन युद्धलाई आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरे ।

Alaska talks: Trump continues to rage, Putin refuses to budge

पुटिनले रुसी-युक्रेनको युद्धको कारणबारे व्याख्या गरे । पत्रकार सम्मेलनमा पुटिन बोलिरहँदा ट्रम्प मुस्कुराइरहेका थिए। वार्ताअघि ट्रम्प रुसप्रति आक्रामक देखिएका थिए । गत जुलाईको भाषणमा बोल्दै उनले युद्धविराम नभए रुसलाई नराम्रो हुने भनेका थिए । तर उनी त्यसरी प्रस्तुत भएनन् । भेटमा भने शान्त देखिए ।

ट्रम्पले यति धेरै रिझाइरहँदा पनि पुटिनले आफ्नो अडान भने छाडेनन् । पुटिनले युद्धविरामका लागि चार अडान राखेका छन् । युक्रेनको केही भुभाग रुसी नियन्त्रणमा जाने, युक्रेनको सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने अडान राखेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ ।

वर्षौँदेखि पश्चिमा मुलुकहरूबाट एक्लिएका पुटिनले वार्ताका लागि अमेरिका पुग्नुअघि नै जित सुनिश्चित गरिसकेका थिए । वार्ताबाट फर्किँदा पनि शक्ति आर्जन गरेर फर्किए । उनले ट्रम्पसँग सम्बन्धलाई पनि थप मजबुत बनाएर फर्किए।

Alaska talks: Trump continues to rage, Putin refuses to budge

पत्रकार सम्मेलनकै क्रममा ट्रम्पले फेरि भेट्ने भन्दै गर्दा पुटिनले अर्को भेट मस्कोमा हुनुपर्ने बताएका थिए। यसमा ट्रम्प सकारात्मक देखिएका थिए । उनले भनेका थिए, ‘ओहो, रोचक कुरा ! यसमा मेरो अलिकति आलोचना होला । तर, यस्तो हुन सक्छ ।’

ट्रम्प रुस जान्छन् कि जाँदैनन् त्यो समयले भन्ला । तर उनी रुस गए भने यो पक्कै ऐतिहासिक हुने छ । अमेरिकी राष्ट्रपतिले पछिल्लो समय २०१३ मा रुस भ्रमण गरेका थिए । तत्कालीन राष्ट्रपति बराक ओबामा जी २० को सम्मेलनमा सेन्ट पिटर्सबर्ग पुगेका थिए ।

मारमा जेलेन्स्की

पुटिनसँगको भेट लगत्तै ट्रम्पले जेलेन्स्कीलाई अमेरिका आउन निम्तो दिएका छन् । पुटिनसँगको वार्ता सक्किएलगत्तै ट्रम्पले जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान पुटिनसँग तीन घण्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयर फोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका थिए ।

ट्रम्पको निम्तो स्विकार्दै उनी सोमबार अमेरिका जाने बताएका छन् । यसअघि गत फेब्रवरीमा पनि जेलेन्स्की अमेरिकाको निम्तोमा ह्वाइट हाउस गएका थिए । त्यति वेला ट्रम्पले देखाएको व्यवहारले वार्ता नै आलोचित बनेको थियो ।

फेब्रवरी २०२२ देखि जारी रुस-युक्रेन युद्धमा सबैभन्दा मारमा युक्रेन छ । ट्रम्पले पुटिनको अडान अनुसार युक्रेनको भूमि रुसमा दिन लगाउँछन् वा युद्ध जारी राख्ने निर्णय गर्छन् त्यो भेटपछि नै थाहा हुन्छ । तर जेलेन्स्की मारमा परेका छन् । उनी युद्ध विराम गर्न चाहन्छन् तर भूमि गुमाउन चाहँदैनन् । पुटिन भू-भाग ओगटेर युद्ध रोक्ने अडान लिएर बसेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *