धन कमाएर घर परिवारलाई सुख दिने सपना बोकेर साउदी अरब पुगेका ११ नेपाली युवा अलपत्र परेका छन्।उनिहरू काठमाडौँमा रहेको अल फराज इन्टरनेशनल ओभरसिज प्रालि नामक म्यानपावर मार्फत करिव २३ महिना अघि साउदी पुगेका थिए। साउदीको इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा कार्यरत रहेका ११ नेपाली मालिक कम्पनी बन्द गरेर सम्पर्कबिहिन भएपछि ४ महिना देखि त्यहाँको यान्बु बिना तलव अलपत्र परेका हुन्।
“कम्पनीका अफिसियल प्रतिनिधि कम्पनी बन्द गरेर सम्पर्क बिहिन भयो,पिडित सिराहाका लव शाहाले भने,’अकामाको म्याद सकिएको पनि ८ महिना भयो साउदी प्रहरी पक्राउ गरे पनि पुनः छाडिदिन्छ,बस्ने भवनमा बिजुली छैन,जसरी भएपनि नेपाल फर्किन पाए हुने थियो।”
नेपालमा म्यानपावर कम्पनीसँग कुरा गर्दा भागेर काम गर्नु भन्ने जवाफ दिएको उनीहरुले बताएका छन्। महावाणीज्यदूतावास जेद्धामा कुरा गर्दा यो समस्या नेपाली दूतावास रियाद को क्षेत्रबाट शुरु भएको त्यहिँ सम्पर्क गर्न भनेको उनीहरुले बताएका छन्। नेपालमा म्यानपावरलाई २ लाख तिरेर कमाई हुने आशमा साउदी आएको भएपनि अझै आएको ऋण तिर्न बाँकी रहेको उनीहरुले बताए।
रियादस्थितमा सम्पर्क गर्दा फोन नै नउठाउने गरेको अर्का पिडित रुपन्देहीका रेजिन गुरुङले बताए। कतैबाट सहयोग नपाएपछि एक भिडियो संदेश जारी गर्दै उनीहरुले आफूहरुलाई चाँडो भन्दा चाँडो उद्धार गर्न अपिल गरेका छन्। अलपत्र हुनेमा रेजिन गुरुङ रुपन्देही, छम बहादुर राना बागलुङ्ग, सन्तोष यादब, लव शाहा, कुश शाहा, कमल सडाइ, बिनोद महरा र उमेश सहानी सिराहाका रहेका छ भने राम धिरज बर्मा बाके र आकाश कुमार चौधरी र राहुल कुमार चौधरी सुनसरीका रहेका छन्।
पछिल्लो समय साउदीमा रोजगारदाता भाग्ने, काम दिए पनि समयमा तलब नदिने तथा अकामाको म्याद सकिए पनि नवीकरण नगरिदिंदा सयौ नेपाली समस्यामा परेका छन्। अकामा नहुँदा बिदाको समयमा बाहिर हिड्डुल गर्न समस्या भएको बताए। साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा रिन्यु गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन्।
अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या परेकाे उनले बताए । आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् ।
नेपाली सेवा समिति यान्बु साउदीद्वारा राहत सामाग्री सहयोग
पिडितहरु भोकभोकै बस्ने अवस्था आएपछि नेपाली सेवा समिति यान्बु साउदीले राहत सामाग्री सहयोग गरेको छ। नेपाली सेवा समिति यान्बु साउदी अरबका अध्यक्ष धन बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले पिडितको समस्या बुझेर तत्कालका लागि दिपक खड्का र पदम उप्रेतीले ४० केजी चामल, १० केजी आलु ५ लिटर तेल,१० केजी चिकेन, प्याज ८ केजी, नुन ३ डब्बा, चिनी ५ केजी, चियापत्ति ५०० पिस, सर्फ १० केजी, साबुन १२ वटा, टुथ पेष्ट ४ वटा सहयोग गरेका छन्।
यस्तै,समाजसेवी दुर्गा सारु मगरले २०० सय साउदी रियाल सहयोग गर्दै आवश्यक परेमा थप राहत सामग्री उपलब्ध गराउदै पिडितहरुको समस्या समाधान गर्न सम्बन्धित निकायमा कुरा राखिदिने बताएका छन्। साथै, नेपाली सेवा समितिले साउदीमा क्रियाशील विभिन्न संघ संस्था तथा व्यक्तित्वहरूलाई लाई आवश्यक सहयोग तथा पहलकदमी गरिदिन अपिल पनि गरेका छन्।
