उपत्यकावासीको धारामा आउन छाड्यो पानी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन । ललितपुरको बगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसकेको उपभोक्ताको गुनासो छ । काठमाडौँको तीनकुने, बत्तिसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटी क्षेत्रलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी नआएको पनि हप्ता नाघिसकेको छ ।

काठमाडौँ क्षेत्र नं. २ (क) का प्रदेश सांसद सुनील केसीले कोटेश्वर, तीनकुने, पेप्सीकोला, रातोपुल, बत्तिसपुतली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, जडीबुटीलगायतका क्षेत्रका उपभोक्ताका धारामा धेरै दिनदेखि मेलम्चीको पानी नआएको बताउदै अहिले यस क्षेत्रका उपभोक्ताले ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता रहेको र ट्याङ्करको पानीको शुद्धता सुनिश्चित कसले गर्ने भन्ने प्रश्नसमेत उठाए  ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफू बसेको ललितपुरको बगलामुखी क्षेत्रमा केही दिनदेखि पानी नआएको बताए उनले आश्वासन बाँड्नुभन्दा उपभोक्ताका धारामा नियमित पानी आउने गरी काम गर्न सम्बन्धित मन्त्रालय र निकायलाई आग्रहसमेत गरे  ।

ललितपुर निवासी  ध्रुवहरि अधिकारीले ललितपुरको नगर क्षेत्रमै पर्ने सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रका उपभोक्ताका धारामा झन्डै एक हप्तादेखि मेलम्चीको पानी नआएको बताउदै पानी नदिए शुल्क किन लिने ? भन्ने प्रश्न गरे उनले  पुरानो र नयाँ पाइपलाइन दुई वटैबाट पानी आएको झरेकाे छैन भने ।

कोटेश्वर, दीप नगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसीले आठ दिनदेखि कोटेश्वर क्षेत्रमा मेलम्चीको पानी नआएको बताउदै भने, “केही समयअघिसम्म त धारामा पानी आउँदै आउँदैनथ्यो, केही हप्तादेखि आउन सुरु भएको थियो । त्यो पनि नआएको एक हप्ता भइसक्यो ।” उनले खानेपानीमन्त्रीले कोटेश्वर महादेवस्थानमा खानेपानी ट्याङ्की निर्माण गर्ने प्रतिबद्धता गरे पनि त्यो अहिलेसम्म पूरा हुन नसकेको गुनासो गरे  ।

पानी धमिलो हुँदा समस्या

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त वर्षा बेला मेलम्ची खोलाको पानी धमिलो हुने भएकाले नियमित रूपमा सुरुङमा पथान्तरण नहुँदा पानी वितरणमा केही समस्या उत्पन्न भएको बताउछन् । उनले भने , “मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउनुपर्नेमा अहिले बेला बेला खोलामा धमिलो पानी बग्ने भएकाले पानी पथान्तरण बन्द गर्दा सो परिणाममा पानी पठाउन सकिएको छैन । पानी पथान्तरण बन्द भएको बेला रिबर्मा खोलाको चार/पाँच करोड लिटर पानी सुरुङमा पठाउने गरिएको छ । तर पनि उपभोक्ताका धारामा नियमित पानी पुग्न सकेको छैन ।” अर्बौं रुपियाँको लगानीमा निर्माण गरिएको सुरुङभित्र बालुवा, माटो ढुङ्गा नथुप्रियोस् भन्ने उद्देश्यले धमिलो पानी पथान्तरण नगरिएको उनले स्पष्ट पारे  ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईले बर्षाका  कारण मेलम्ची खोलाको पानी पहिलेकै दरमा सुरुङमा पथान्तरण हुन नसक्दा उपभोक्ताको धारामा नियमित रूपमा पानी आउन नसकेको बताए  । उनले भने , “ठुलो पानी पर्दा मेलम्ची खोलाको पानी धमिलो आउँछ । सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रले छान्न (फिल्टर गर्न) सक्नेसम्मको धमिलो पानी सुरुङमा पठाइन्छ तर छान्न नसक्ने पानी सुरुङमा पठाइँदैन । धमिलो पानीले सुरुङ र प्रशोधन केन्द्रलाई असर गर्ने भएकाले त्यस्तो नगरिएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *