कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका हुन । अहिले स्थिति नियन्त्रण बाहिर गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतले जानकारी दिएको छ । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् ।
कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी समेत दिएका छन । सुरक्षा स्रोतले भन्यो, ‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्, ‘राति घाइतेको उद्धार गरिए पनि त्यहा भित्रको अवस्था के छ भन्न सकिएको छैन् ।’
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो । उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख
कैलाली कारागारमा झडप’ सम्वन्धमा छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।
झडप सम्वन्धमा छानविन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारमा भएको झडपको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।
