नेपालगन्ज — नयाँ भन्सार नीतिले एक सय रूपैयाँभन्दा बढीका सामान ल्याउँदा राजस्व तिर्नुपर्ने व्यवस्था गरेयता मुख्य सीमा नाकाहरूमा दिनहुँ जस्तो विवाद हुने गरेको छ । बेलाबेलामा स्थानीय र प्रहरीबीच विवाद र झडपको स्थितिसमेत उत्पन्न हुने गरेको छ ।
सरकारको सय दिने कार्यसूचीअन्तर्गत सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार कर लाग्ने व्यवस्था कार्यान्वयनका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेले जमुना सीमा नाकामा कडाइ गरिरहेको छ ।
सीमा क्षेत्रमा अवैध रूपमा भन्सार चोरी निकासी तथा पैठारी भइरहेका सामान नियन्त्रण गर्ने क्रममा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि अभद्र तथा आक्रामक व्यवहार गर्ने पाँचमध्ये तीनजनालाई नियन्त्रणमा लिएको गणले जनाएको छ ।
गणका अनुसार वैशाखमा सीमा सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीमाथि अवरोध तथा दुर्व्यवहार गरेको आरोपमा जानकी गाउँपालिका–१ निवासी सन्जय लोध, तोहित आलम कवाडिया तथा भारत उत्तर प्रदेश श्रावस्ती भिङ्गाका २६ वर्षीय गुड्डु सिद्धीकीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । को प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण अभियानलाई अझ सशक्त बनाउन जमुना नाकामा स्निफर कुकुर परिचालन, सीमा सुरक्षा थप कडा गरेको छ ।
बाँके जिल्लाको मुख्य नेपाल–भारत सीमा नाका जमुनामा सीमा सुरक्षा तथा चेकजाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले शुक्रबार तालिमप्राप्त स्निफर (के९) कुकुरहरू परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ३० गणका अनुसार परिचालित कुकुरले विशेषगरी हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधसम्बन्धी चेकजाँचमा सघाउने छन् ।
यसैबिच भारतको रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डलले सरकारले लागु गरेको नयाँ भन्सार नीतिका कारण सीमा क्षेत्रको व्यापारमा गम्भीर असर परेको भन्दै भारतको बहराइच जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको छ । मण्डलले जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सीमा क्षेत्रमा व्यापारिक तनाव, स्थानीयको समस्या तथा राजस्वमा असर परेको उल्लेख गरेको हो ।
ज्ञापनपत्रमा नेपाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरेपछि सीमावर्ती बजार रुपैडिहा तथा आसपासका व्यापारी प्रभावित भएको जनाइएको छ । दैनिक उपभोग्य वस्तुमा ५ प्रतिशतदेखि ८० प्रतिशतसम्म शुल्क लाग्न थालेपछि खाद्यान्न, तेल, औषधि तथा कपडाजस्ता सामानको मूल्य बढेको व्यापारीहरूको भनाइ छ ।
व्यापार प्रतिनिधि मण्डलका अनुसार नयाँ नीतिपछि भारतीय व्यापारीहरूको कारोबार ५० देखि ७५ प्रतिशतसम्म घटेको छ । सीमावर्ती क्षेत्रमा ग्राहकको आवागमन कम हुँदा व्यापार मात्रै नभई स्थानीय जनजीवनमा समेत असर परेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भारतले नेपाललाई विभिन्न व्यापारिक सहुलियत तथा ‘ड्युटी फ्री’ सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सरकारको पछिल्लो नीतिले भारतीय साना व्यापारीलाई प्रत्यक्ष असर परेको दाबी गरिएको छ । साथै सीमामा नेपालका सुरक्षा निकायले कडाइ गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको पनि व्यापारीहरूले बताएका छन् ।
रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डलले भारतीय प्रशासनमार्फत नेपाल सरकारसँग समन्वय गरी समस्या समाधानमा पहल गर्न आग्रह गरेको छ । सीमा क्षेत्रमा पुरानै व्यापारिक तथा सामाजिक सम्बन्ध कायम राख्न दुवै देशका निकायबीच संवाद आवश्यक रहेको व्यापारीहरूको भनाइ छ ।
नाकाको गतिविधि घटेसँगै त्यहाँ निर्भर साना व्यवसायी, रिक्सा चालक तथा होटल व्यवसायीको आम्दानीसमेत प्रभावित भएको छ ।
सरकारले सीमापारबाट खरिद गरी ल्याउने सामानमा एक सय रूपैयाँभन्दा बढी मूल्यको भएमा भन्सार नतिरिकन ल्याउन दिन बन्देज गरिएपछि रुपैडिहा बजार सुनसान हुन थालेको हो । नेपाली उपभोक्ताकै कारण चम्किएको रुपैडिहा बजारमा गएर खरिद गरी ल्याउदा भन्सार तिर्नुपर्ने नियममा कडाइ गरिएसँगै त्यहाँको भिड घटेको हो । नेपालगन्जको जमुनाहा नाकादेखि ट्राफिकचोकसम्मको दुरी करिब ३ किलोमिटर छ ।
