दलाई लामासँग सम्बन्ध बिच्छेदको चेतावनी

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायभित्र निर्वाचन विषयमा देखिएको विवाद चर्किएको छ। भारत निर्वासित केन्द्रीय तिब्बती प्रशासनले गरेको पछिल्लो निर्वाचन प्रक्रियालाई लिएर समुदायभित्रै मतभेद बढेको छ ।

नेपालमा गत भदौमा भएको ‘जेन जी प्रदर्शन र विध्वंश’पछि दलाई लामाका नेपाल प्रतिनिधि नवाङ छोक्डुपले नेपाली नागरिकता लिएको विषय सार्वजनिक भएको थियो । त्यसलगत्तै उनी भारत गएको बताइन्छ । उनी भारततिर भागेपछि नेपालस्थित तिब्बती शरणार्थी प्रतिनिधि कार्यालयको नेतृत्व सम्हालेका सचिव कर्मा ग्यालत्सेनमाथि स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रिया सञ्चालन नगरेको आरोप लागेको छ ।

नेपाल प्रतिनिधि कार्यालयका सचिव कर्मा ग्यालत्सेनले विभिन्न तिब्बती क्याम्पका प्रमुखहरूलाई आफ्ना बस्तीभित्र मतदान गराएर नतिजा पठाउन निर्देशन दिएका थिए । प्राप्त नतिजा धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासनलाई पठाइएको र त्यहाँबाट स्वीकारसमेत गरिएको स्रोतले बतायो ।

तर दोस्रो चरणको निर्वाचनपछि विवाद थप चर्कियो । बौद्ध,जोरपाटीस्थित तिब्बती बस्तीका मतदातालाई दोस्रो चरणको मतदानमा सहभागी हुन नदिएको आरोप असन्तुष्ट पक्षले लगाएका छन् । उनीहरूका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म पनि ती क्षेत्रमा मतपेटिका पुर्याइएको थिएन।

‘पहिलो चरणको निर्वाचनलाई मान्ने तर अन्तिम चरणमा आएर धाँधली भएको जनाउँदै हामीलाई निर्वाचनमा भाग लिन नदिने कुरा स्वीकार्य हुँदैन,’ बौद्ध क्याम्पमा बस्दै आएका पासाङ नोडुपले भने । उनले आफूहरुलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइनुपर्ने, अन्यथा धर्मशालालाई नमान्नेसम्मको चेतावनी दिएका छन् ।

स्रोतले पहिलो चरणको मतदानमा पेन्बा छिरिङ पक्षमा अत्यधिक मत खसेपछि बौद्ध क्षेत्रका मतदातालाई दोस्रो चरणबाट बाहिर राखिएको आशंका गरेको छ । त्यसपछि बौद्ध क्याम्पमा असन्तुष्टि चुलिएको हो ।

हाल बौद्ध क्याम्पमा ४ हजार ८४६ जना तिब्बती बसोबास गर्छन् । उनीहरूले आफूहरूलाई योजनाबद्ध रूपमा मतदानबाट वञ्चित गराइएको आरोप लगाएका छन् । निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले लाजिम्पाटस्थित नेपाल प्रतिनिधि कार्यालयमा पुगेर विरोधपत्रसमेत बुझाएका थिए । तर त्यसबारे कुनै सुनुवाइ नभएपछि आन्दोलनको दोस्रो चरण थालिएको बताइन्छ ।

यसबीच निर्वाचन बदरको माग गर्दै धर्मशालास्थित निर्वासित तिब्बती अदालतमा मुद्दा दायर गरिएको बुझिएको छ । जोरपाटीमा बसोबास गर्दै आएका लोप्साङ नामक एक तिब्बतीले धर्मशाला पुगेर उजुरी दर्ता गराएको बताइन्छ । उजुरीमा बौद्ध र जोरपाटीका तिब्बतीहरूलाई पुनः मतदानको अवसर दिनुपर्ने माग छ।

उनीहरूले बौद्ध क्याम्पका ४ हजार ८४६ जनालाई पुनः मतदान गर्न दिनुपर्ने माग अगाडि सारेको र मतदान अधिकारबाट वञ्चित गरिए धर्मशालासँगै सम्बन्ध विच्छेद गर्ने, दलाई लामा तथा तिब्बती प्रशासनलाई अस्वीकार गर्ने र तिब्बती प्रशासनद्वारा जारी ‘ग्रीन बुक’ फिर्ता गर्ने चेतावनीसमेत दिएका छन्।

बौद्ध र जोरपाटी दुवै बस्तीका प्रमुख फुर्वा ताशी तोकिएका छन् । जोरपाटी क्याम्पमा ६०५ जना तिब्बती बसोबास गर्दै आएको देखिन्छ । त्यहाँका मतदातालाई पनि दोस्रो चरणमा सहभागी हुन नदिएको आरोप लागेको छ।

निर्वाचनको पहिलो चरण फेब्रुअरी १ मा सम्पन्न भएको थियो भने दोस्रो चरण अप्रिल २६ मा भएको थियो । पहिलो चरणदेखि नै धाँधलीको आरोप लाग्दै आयो र दोस्रो चरणमा प्रत्यक्ष सहभागितामै रोक लगाएपछि विवाद थप गहिरिएको हो ।

यस घटनाक्रमलाई लिएर नेपालस्थित पश्चिमा मुलुकका दूतावासहरुले समेत चासो देखाएको स्रोतको दाबी छ। ती दूतावासका अधिकारीहरुले दलाई लामाको नेपाल प्रतिनिधि कार्यालयसँग असन्तुष्टि र निर्वाचनबारे जवाफ मागेको बताइन्छ ।

उता धर्मशालाभित्रै पनि पछिल्लो समय विभिन्न विवाद सार्वजनिक भइरहेका छन् । केही समयअघि दलाई लामाका भतिजा तेन्जिन ताक्लासम्बन्धी विवाद बाहिर आएको थियो। उनीमाथि युवती, मदिरा र भ्रष्टाचारसम्बन्धी आरोप लागेको चर्चा चल्यो । तर ती आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

साभारःजनआस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *