राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार केन्द्रीय समिति बैठक र बृहत् सार्वजनिक भेला आयोजना गर्ने भएको छ।सदनमा जारी गतिरोधकै बीच पार्टीले ‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धन’ को नारासहित सडकमा समेत उपस्थिति देखाउन लागेको हो।
पार्टीका प्रवक्ता (कार्यवाहक) मनिष झाका अनुसार, शनिबार बिहान ७ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बस्नेछ। बैठकलगत्तै बिहान ९ बजे माइतीघर मण्डलामा बृहत् भेला आयोजना गरी स्थापना दिवस मनाइने उनले बताए।
रास्वपाले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ। सोही मागलाई थप बलियो बनाउन पार्टीले स्थापना दिवसको अवसरमा सडक प्रदर्शनसमेत गर्न लागेको हो।
प्रवक्ता झाले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई भेलामा उपस्थित हुनका लागि अनुरोध गरेका छन्।
