शिक्षकको कुटपिटबाट घाइते बालक अस्पताल भर्ना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पाँचथरको फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमीमा अध्ययनरत बालकमाथि शिक्षिकाबाट निर्घात कुटपिट भएको छ । पीडित बालक सेसेफुङ नेम्वाङकी आमा सावित्रा नेम्वाङका अनुसार विद्यालयका शिक्षिका सुमित्रा सेन्दाङ (नेम्वाङ) ले ‘वान टु’ लेख्न नजानेको भन्दै बालकलाई भाटाले हानेकी हुन् ।

ढाडमा १८ भाटा हानेपछि बिरामी परेका सेसेफुङलाई शुक्रबार फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । “छोरो रातभरी सुत्न नसकेर छटपटाउनका साथै ज्वरो आएपछि लुगा फुकालेर हेर्दा शरीर भरी निलडाम देखिएपछि सोधपुछ गर्दा मिसले कुटेको थाहा भयो,” आमा सावित्राले भनिन् ।

घटनाबारे अभिभावकले वडाध्यक्ष राजकुमार नेम्वाङलाई जानकारी गराएका थिए । वडाध्यक्ष राजकुमार नेम्वाङले घटनाको जानकारी पाएपछि बालकको अवस्था दयनीय देखिएकाले तत्काल उपचारका लागि अस्पताल लैजान विद्यालय पक्षलाई निर्देशन दिएको बताए  ।

विद्यालय सञ्चालक संयोग सारु मगरले बालकमाथि कुटपिट गर्ने शिक्षिकालाई निलम्बन गरिएको तथा उपचार खर्च विद्यालय प्रशासनले व्यहोर्ने सहमति अभिभावकसँग भएको बताए  ।

पीडित पक्षले भने विद्यालय प्रशासन सम्पर्कमा नआएको गुनासो गरेका छन्। “हामीले फोन गर्दा पनि उठाउनु भएको छैन । सञ्चालकको श्रीमती मार्फत मेरो मोवाइलमा उपचार खर्च व्यहोर्छौं भनेर म्यासेज चाहिँ आएको छ,” सावित्राले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *