विश्वव्यापी रूपमा विद्युतीय गाडीको बिक्री बढ्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 पश्चिम एसियाका विभिन्न भेगमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य उच्च बिन्दूमा पुगेपछि विश्वभर विद्युतीय तथा हाइब्रिड गाडीको माग तीव्र रूपमा बढ्न थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेपछि उपभोक्ताहरू पेट्रोल तथा डिजेल गाडीबाट विद्युतीय विकल्पतर्फ सर्न थालेको  देखिदैछ ।

रोयटर्सले उद्धृत गरेको बेन्चमार्क मिनरल इन्टेलिजेन्सको तथ्यांकअनुसार अप्रिलमा ब्याट्री-विद्युतीय र प्लग-इन हाइब्रिड गाडीको विश्वव्यापी माग गत वर्षको तुलनामा ६ प्रतिशत बढेर १६ लाख युनिट पुगेको छ ।

द्वन्द्व सुरु भएयताका दुई महिनामा अमेरिकामा हाइब्रिड गाडीको बिक्री ३७ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । चिनियाँ अटो निर्माता बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले फाइनान्सियल टाइम्समा इन्धन मूल्यवृद्धिले उपभोक्ताको व्यवहार परिवर्तन गरिरहेको बताएकी छन् । सञ्चार माध्यमहरूका अनुसार अमेरिकामा पेट्रोलको मूल्य पछिल्ला चार वर्षयताकै उच्च विन्दूमा पुगेको छ ।

युरोपमा विद्युतीय गाडीको माग सबैभन्दा तीव्र रूपमा बढेको देखिएको छ । रोयटर्सका अनुसार सन् २०२६ को पहिलो त्रैमासमा प्रमुख युरोपेली बजारमा पूर्ण विद्युतीय गाडीको बिक्री झन्डै एकतिहाइले बढेको छ । महँगो इन्धनबाट बच्न उपभोक्ताहरू विद्युतीय विकल्प रोज्न थालेका हुन् ।

विश्वकै ठूलो विद्युतीय गाडी बजार चीनमा पनि डिजेलको मूल्य बढेपछि विद्युतीय ट्रकको माग तीव्र भएको छ । रोयटर्सका अनुसार मार्चमा चीनमा विद्युतीय हेभी ट्रकको बिक्री २०२५ मार्चको तुलनामा ४५ प्रतिशत बढेर ४४ हजार युनिट पुगेको छ । भारतमा पनि इन्धन मूल्यवृद्धिको दबाब बढ्दै गएको छ । टाटा मोटर्सले यसै साता इरान द्वन्द्व र इन्धन मूल्य अस्थिरताका कारण लागत बढिरहेको जनाएको थियो ।

विश्लेषकहरूले पछिल्लो तेल संकटले विद्युतीय यातायाततर्फको दीर्घकालीन परिवर्तनलाई अझ तीव्र बनाएको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एलएसईजीको तथ्यांकले पनि तेलको मूल्य बढेका वर्षहरूमा विद्युतीय र हाइब्रिड गाडीको बिक्री द्रुत गतिमा बढेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *