लगाएका लुगासमेत लुटिएपछि अलपत्र परे नेपाली कामदार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फाटेको गञ्जी, फाटेकै पाइन्ट र जुत्ता । शरीरमा रहेका त्यही लुगा बाहेक अरू केही थिएन । नुवाकोटको बेलकोटगढी नगरपालिका-१० का २९ वर्षीय सरोज नेपाली मंगलबार गड्डाचौकी नाकामा यस्तै अवस्थामा भेटिए ।तीन वर्षदेखि भारतको हिमाचलको मनालीमा सिलाइ-कटाइको काम गर्दै आएका उनी घर फर्किँदै गर्दा बाटोमै लुटिएर यस्तो अवस्थामा पुगेका हुन् ।

नेपाली दुई महिनाअघि घरबाट मनाली गएका थिए । काम राम्रै चलिरहेको थियो । अचानक बिरामी परे । उपचार गराउँदा पनि निको भएन । त्यसपछि उनी घर फर्किने निर्णयमा पुगे । आइतबार बिदा लिएर घर हिँडेका उनी सोमबार बिहान चण्डीगढ पुग्नै लागेका थिए । चण्डीगढ पुग्नुअघि नास्ता गर्ने ठाउँमा सँगै यात्रा गरिरहेका एक नेपालीले चिया पिउन प्रस्ताव गरे । नेपाली नै भएकाले उनले पनि चिया पिउने प्रस्ताव स्वीकार गरे ।

‘चिया पिएको केहीबेरमै बेहोस भइहाले, तीन घण्टापछि होसमा आउँदा शरीरमा रहेका लुगा समेत थिएनन्,’ उनले भने, ‘पातलो ज्याकेट लगाएको थिए, त्यसैमा मोबाइल र पैसा थियो, ज्याकेटै लग्यो ।’ ज्याकेट मात्र होइन, आफ्नो र परिवारका लागि ल्याएको कपडाको झोलासमेत लगेको उनले बताए ।

नेपालीले दुई महिनाको कामबाट केही लुगा–कपडा किनेका थिए भने ९ हजार भारु पनि साथमै बोकेका थिए । उक्त रकमसमेत लुटिएको उनले जानकारी दिए । मनालीबाटै उनीसँगै आएका अर्का एक नेपालीसँग दुई जना भारतीय पनि थिए । ती तीनै जना आपसमा कुराकानी गरिरहेका थिए । नेपाली बोल्ने व्यक्ति बीचबीचमा उनीसँग पनि गफ गरिरहेका थिए । त्यसैले उनी पनि चिया पिउन तयार भए ।

‘बाटोमा यात्रा गर्दा अपरिचितले दिएको खानु हुँदैन भन्ने थाहा थियो, तर नेपाली नै भएकाले विश्वास गरेँ,’ उनले भने, ‘त्यही विश्वासले बाटोमै अलपत्र परेँ ।’ उनको शरीरको कपडा खोल्दा घोचपेच गरिएको देखिन्थ्यो र निधारमा सानो घाउसमेत थियो ।

चण्डीगढ पुग्नुअघि लुटिएपछि उनले गोवामा रहेका भाइलाई सम्पर्क गरे । बसकै सहचालकको फोनबाट सम्पर्क गरेपछि भाइले बनबासासम्म पुग्ने भाडा पठाएको उनले बताए । ‘भाइ पनि भर्खरै गएकाले बढी रकम पठाउन सकेन, नेपाल पुगेपछि केही न केही भइहाल्छ भनेर हिँडे,’ मंगलबार बिहान गड्डाचौकी नाकामा भेटिएका नेपालीले भने, ‘यहाँ पुगेर घरमा सम्पर्क गर्दा फोन लागिरहेको छैन ।’ भाइको फोन नम्बर याद भएकाले सम्पर्क गर्न सजिलो भएको उनले बताए ।

अलपत्र अवस्थामा मंगलबार गड्डाचौकी नाकामा पुगेका नेपालीलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिई पठाएको छ। एक जोर लुगा किन्नका लागि पनि सहायता कक्षले व्यवस्था गरेको छ ।

भारतको उत्तराखण्ड र हिमाचल क्षेत्रबाट घर फर्किने क्रममा थुप्रै नेपाली बाटोमै बेहोस बनाई लुटिने गरेका छन् । प्रायः नेपालीबाटै उनीहरू लुटिने गरेको पाइएको छ । नेपाली बोल्ने र नजिकिएपछि चिसो, चिया वा अन्य खानेकुरा खुवाएर बेहोस बनाई लुट्ने गरिएको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहोराले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा १२७ जना यसरी लुटिएर आएकालाई घरसम्म पुग्ने खर्च दिई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *