चीनले दियो खतराको संकेतः सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चीन स्वशासित तिब्बतको न्यालममा वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीले उत्तरी सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी आसपासमा सर्तक रहन सन्देश प्रवाह गरेका छन्। चिनियाँ अधिकारीहरुले बर्षाका कारण बाढी आउन सक्ने खतराको संकेत गरेलगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार दिउँसो सूचना जारी गरी नागरिकहरुलाई सतर्कता अपनाउन अपिल गरेको छ।

‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि लिपिङ सम्ममा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ।

तिब्बतमा अझै भारी वर्षा हुनसक्ने मौसमविद्को चेतावनीपछि सीमामा रहेका चिनियाँ अधिकारीले सतर्कता अपनाउन सन्देश प्रवाह गरेका हुन्। सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै सुरक्षा अंगलाई सतर्क रहन निर्देशन दिएका छन्। प्रजिअ थापाले भोटेकोशी र सुनकोशी तटीय क्षेत्रको लिपिङदेखि बन्देउसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको बताए। ‘अहिले भोटेकोशी नदीमा बाढी आइरहेको छ। तर, खतराको अवस्था छैन’, थापाले भने– ‘तातोपानी, बाह्रबिसे, लामोसाँघु, बलेफी, सुकुटे क्षेत्रका स्थानीयलाई सचेत गराइएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *