भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ ।मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबिचको सीमाङ्कनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै यस्तो बताए ।
प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनका विषय सुल्झिन बाँकी रहेको बताउदै भने सीमाङ्कन भइसकेका क्षेत्रमा पनि सीमा वारपारको कब्जा र दसगजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको छ ।
नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भने , “नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो । यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ ।”
सीमासम्बन्धी सबै प्राविधिक र कूटनीतिक विषयलाई सम्बोधन गर्नका लागि दुई देशबिच प्रभावकारी द्विपक्षीय संयन्त्र क्रियाशील रहेको उनको भनाइ थियो । दुई देशबिचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारतबिच जनस्तरका साथै राजनीतिक दलबिच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गरे । पछिल्लो समय नेपालका तर्फबाट भइरहेका उच्चस्तरीय भ्रमण र विभिन्न तहका भेटवार्ताले आपसी सम्पर्क र सम्बन्धलाई थप सुदृढ बनाइरहेको उनले बताए ।
