बीपी राजमार्ग पुनर्निर्माणको अपरिहार्यता

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकार राष्ट्रिय पूर्वाधारको संवेदनशील मुद्दामा गम्भीर हुनुपर्छ । ठूलो बजेट विनियोजन गरी शीघ्रातीशीघ्र पुनर्निर्माण गर्नुपर्छ ।

मुलुकको राजधानी सहर काठमाडौंलाई तराई मधेससँगै पूर्वसँग जोड्ने वैकल्पिक राजमार्ग बर्दिबास–सिन्धुली–बनेपा (बीपी) राजमार्ग हो । कान्ति राजपथ, त्रिभुवन राजपथ वैकल्पिक पनि हुन सकेनन्, जबकि ती पुराना राजमार्ग हुन् । पृथ्वी राजमार्गकै बाटो पूर्वदेखि पश्चिम नेपाल काठमाडौंसँग जोडिन्छ । पूर्व जान पश्चिमको बाटो हिँड्नुपर्छ । बीपी राजमार्गले पूर्व जान पूर्वकै बाटोको दैलो उघारेको थियो ।

मित्रराष्ट्र जापानको सहयोगमा निर्मित यो राजगर्माको गुणस्तरको तारिफ पनि हुने गरेको हो, हाला कि थोरै समथर र धेरै पहाडी मार्ग साँघुरो पनि हो । तर यसले नेपालको पूर्वका मध्यपहाडी जिल्लाहरूसँग पनि काठमाडौंलाई सजिलोसँग जोडेको थियो । यात्रा छोट्ट्याएको थियो । तर पोहोरको बाढीपहिरोको चपेटामा परेर यो मार्ग ध्वस्त भयो । हुने हार दैव नटार भनेजस्तो प्राकृतिक प्रकोप आकस्मिक थियो, कल्पनीय थिएन । तर जसरी बीपी राजमार्ग भताभुंग भयो, त्यसको गाम्र्भीय र महत्त्व हेरी तत्काल पुनर्निर्माण गर्नुपर्ने हो । त्यतातिरको तदारुकता भने उदेकलाग्दो गरी निराशाजनक छ ।

यो राजमार्गले सिन्धुली, महोत्तरी, रामेछाप, ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत जिल्लाहरूमा यातायात, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापारमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । त्यसैले जसै राजमार्ग भत्कियो, बिग्रियो आर्थिक, सामाजिक र सांस्कृतिक विकासको मेरुदण्ड भाँच्चिएजस्तो भएको छ । भारत र चीनसँगको व्यापारलाई पनि यो राजगर्माले सहज बनाएको हो । राजमार्ग केवल यात्राको माध्यम होइन, यो जीवनसँग जोडिन्छ । त्यसैले त यही राजमार्गले स्थानीयको जीवनको राजमार्गलाई सुकिलो बनाउँदै तीव्रतर रूपमा उकास्दै थियो । पोहोर असोज ११ र १२ मा रोशी र सुनकोशी नदीको बाढीले यो राजमार्गको १२ किलोमिटर खण्ड तहसनहस बनाएपछि स्थानीयको सपना र आशालाई पनि बगायो ।

विपत्तिको नौ महिना बितिसक्दा पनि राजमार्गको पुनर्निर्माणमा सरकारले आँखा चिम्लिए बराबर छ । किनभने यतिका समयसम्म पनि पुनर्निर्माणको सिन्को भाँचिएको छैन । यो राजमार्गको महत्त्व केवल यातायातमा सीमित छैन । यसले मध्यपहाडी जिल्लाहरूलाई काठमाडौं र तराईसँग जोडेर आर्थिक समृद्धिको आधार तयार गरेको थियो । दैनिक १० हजार सवारी चल्ने गरेका थिए । बाढीपछि चार हजारमा सीमित छन् गाडीहरू ।

होटल, रेस्टुरेन्ट, विद्युतीय चार्जिङ स्टेसन र अन्य व्यवसायमा सुनसान छाएको छ । बर्खाको मौसम नरहँदा पनि पोहोर बाढीले राजमार्ग भत्काएको थियो, अहिले बर्खा लागिसक्यो, थप क्षति के के हुने हो भन्ने यकिन कसैले गर्न सक्दैन । बरु पक्का के छ भने सरकारले पुनर्निर्माणमा बेवास्ता गर्दा स्थानीयको आर्थिक र सामाजिक स्तर गिर्नेछ । फेरि यसपालिको बर्खाले पनि क्षति पुर्‍यायो भने झन् खर्चिलो बन्नेछ पुनर्निर्माण । तसर्थ सरकार राष्ट्रिय पूर्वाधारको संवेदनशील मुद्दामा गम्भीर हुनुपर्छ । ठूलो बजेट विनियोजन गरी शीघ्रातीशीघ्र पुनर्निर्माण गर्नुपर्छ । राजमार्ग पुनर्निर्माणमा ढिलाइले मध्यपहाडी जिल्लाहरूको विकासमाठूलो धक्का लाग्नबाट रोक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *