बाँकेमा ७ सय ८२ बालबालिकामा कुपोषण भेटियो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बाँकेको डुडुवा गाउँपालिका–२ दासपुरुवाकी २२ महिने जुगुन्ती नाउँको तौल मात्र ५ किलो छ । जुगन्तीका शरीरका सबै भागहरू शिथिल र अनुहार खिइएको छ। चिकित्सकहरूले जग ‘गम्भीर कुपोषित’ को श्रेणीमा राखेका छन्। त्यस्तै, सोही वडाकी ११ महिने राधिका खटिकको तौल ४ किलो मात्र छ। स्थानीय वेतहनी स्वास्थ्य चौकीका अहेव प्रदीपकुमार शाहका अनुसार, यी घटनाहरू त प्रतिनिधि उदाहरण मात्र हुन्।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, चालु आर्थिक वर्ष २०८१-८२ मा मात्रै ५९ हजार ५१३ बालबालिकामा कुपोषण देखिएको छ। तीमध्ये ७८२ जनामा कडा शीघ्र कुपोषण रहेको छ भने २ हजार ५२७ बालबालिका मध्यम कुपोषणको अवस्थामा छन्। पछिल्लो आर्थिक वर्ष २०८०-८१ मा ६३ हजार ९९ बालबालिकामा कुपोषणको लक्षण देखिएको थियो । जसमा कडाशीघ्र कुपोषण छ सय ९६ बालबालिकामा थियो भने मध्यम कुपोषण २ हजार ८ सय ६६ जनामा देखिएको थियो ।

यसअघि, आर्थिक वर्ष २०७९-८० मा ५० हजार ३९३ बालबालिका कुपोषित भएका थिए ।जसमा कडाशीघ्र कुपोषण सात सय ८४ जनामा देखिएको थियो भने मध्यम कुपोषण २ हजार ८ सय ५२ जनामा देखिएको थियो ।

५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई कुपोषण परीक्षण गर्दा ० देखि २३ महिना उमेर समूहका बालबालिकामा कुपोषणको दर सर्वाधिक देखिएको छ। परीक्षण गर्दा बालबालिकाहरूको उमेर अनुसारको तौल ,उचाइ ,मोटोपना ,दुब्लोपना र ख्याउटेपनाको अवस्था बारे पत्ता लगाउने गरिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए  । उनले बालबालिकाहरूको पाखुराको नाप लिएर रङ अनुसार अवस्था छुट्टाइने गरिएको जानकारी दिए ।  जसअनुसार पहेँलो रङलाई मध्यम ,हरियो रङलाई सामान्य र रातो रङलाई कडा कुपोषण भनेर वर्गीकरण गरिन्छ ।

अत्यधिक दुब्लोपन, अनुहार चाउरिएको, फुस्रो कपाल, सुख्खा छाला, चिडचिडेपन र खानामा अरुचि कुपोषणका लक्षण भएकाले बालबालिकाहरूलाई उपचार पद्धतिमा लैजानुपर्ने बाल रोग विशेषज्ञ डाक्टर रोमा बोहोराले बताउदै डाक्टर बोहोराले भने,“ घरमै बनाउन सकिने पोषणयुक्त खाना मकै, गहुँ, चामल, सोयाबिन, चना, सिमी, बदाम आदि मिसाएर बनाइएको लिटो बालबालिकाका लागि अत्यन्त उपयोगी हुन्छ । यसका साथै घरमै पकाइने सन्तुलित खानाहरूका साथमा सजिलै पच्ने फलफूल र भिटामिनयुक्त खानेकुराहरू नियमित बालबालिकाहरूलाई खुवाउनु पर्ने हुन्छ ।”

लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष यस समस्यालाई न्यूनीकरण गर्न बाँके स्वास्थ्य कार्यालयलाई ११ लाख ८० हजार रुपियाँ बजेट प्रदान गरेको थियो, जसमा १ लाख ५० हजार रुपैयाँ खर्च हुन सकेन।

यो वर्ष ४६ हजार बालबालिकाको पोषण स्थिति परीक्षण गर्ने लक्ष्य राखिएको तर लक्ष्यभन्दा बढी बालबालिकामा परीक्षण सफल भएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन देवनारायण उपाध्याय बताउछन । उनका अनुसार बाँकेमा गम्भीर कुपोषित बालबालिकाका लागि ३६ वटा बहिरङ्ग उपचार केन्द्र सञ्चालनमा छन् भने आवश्यक थप उपचारका लागि  भेरी अस्पतालको पोषण पुनः स्थापना गृहमा रेफर गरिन्छ।

कडा शीघ्र कुपोषण भएका बालबालिकाहरूलाई स्वास्थ्य संस्थाहरूले निःशुल्क रूपमा रेडी–टु–यूज थेराप्युटिक फुड –(आरयुटिएफ) सहित पोषणयुक्त आहार प्रदान गर्ने गरेको पनि उहाँले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *