पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगतकाे पथलैया ढल्केवार खण्डकाे सडकहरू मा पछिल्ला केही वर्षयता सहरदेखि ग्रामीण क्षेत्रमा सडक बत्ती जडान तीव्र गतिमा बढेको छ। बाटो उज्यालो राख्न र सुरक्षाको दृष्टिकोणले जडान गरिएका यस्ता बत्तीले भने चरा वासस्थानमा गम्भीर असर पार्न थालेका छन्। चराविद्का अनुसार सडक बत्तीको कृत्रिम उज्यालोले चराले रात–दिन छुट्याउन नसक्दा उनीहरूको जीवनचक्रमा गम्भीर असर पुगिरहेको छ। रातमा समेत उज्यालो भइरहँदा चरालाई आहारा खोज्न, गुँड बनाउन र प्रजनन चक्रलाई कायम राख्न कठिन भइरहेको छ।
मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले सडक बत्तीका कारण चराचुरुङ्गीको वासस्थान सङ्कटमा पर्दै गएको बताउछन्। उनका अनुसार चराहरूको जीवन सूर्य, चन्द्रमा र ताराको प्रकाशसँग जोडिएका हुन्छन्। तर कृत्रिम उज्यालोले उनीहरूको निन्द्रा, आहाराको खोजी, प्रजनन् र उड्ने मार्गमा अवरोध पुग्ने गरेका छन्।
मण्डलका अनुसार राति बल्ने बत्तीको प्रकाशमा जम्मा हुने कीरा तथा साना जीवहरूले चराहरूलाई आकर्षित गर्छन्। तर त्यहीँ शिकार गर्ने जनावर बिरालो, उल्लु, स्याल आदिले सजिलै आक्रमण गर्ने मौका पाउँछन्। कृत्रिम प्रकाशले नर र पोथी चराको जोडी मिल्ने प्रक्रियामा पनि असर पार्ने गरेको उनको भनाइ छ।
धेरै प्रजातिका चरा गीत गाएर वा आवाज निकालेर जोडी खोज्छन्। तर चहकिलो उज्यालोले उनीहरूको आवाजको प्रभाव घटाउँछ, जसले प्रजननमा बाधा पुर्याउँछ। धेरै चरा उज्यालोको वरिपरि घुमिरहँदा थकाइ लागेर वा भवन, पोल, तारमा ठोक्किएर मर्ने गरेको अध्यक्ष मण्डलको भनाइ छ।
यसैगरी, वातावरण अभियन्ता तथा वृक्षमानवको नामले परिचित सुरेश शर्माले अहिले सहरदेखि गाउँसम्म चहकिला बत्ती जडान गर्ने लहडले चराको अस्तित्व सङ्कटमा परेको बताउछन् ।
शर्माका अनुसार ध्वनि, धुवाँ, माटो प्रदूषण, रासायनिक मल र विषादीको प्रयोगले चराको अस्तित्त्व सङ्कटमा परेका छन्। विषादी मिसिएको अन्न वा मरेका कीरा–फट्याङ्ग्रा खाँदा चराहरू विषाक्त भएर मर्ने गरेका छन्। त्यस्तै, नदी–पोखरीमा उद्योगबाट निस्कने रसायन मिसिएको दूषित पानी पिएर चरा मर्ने गरेका छन्। चरासम्बन्धी एक अध्ययनले नेपालमा पछिल्लो समयमा ५७ प्रतिशत चराको सङ्ख्या घटेको र २२ प्रजाति लोप भइसकेको देखाएको छ।
पर्यावरण अभियन्ता शर्माले चराको संरक्षणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर काम गर्नु आवश्यक रहेको बताउदै चराको अस्तित्व सङ्कटमा पर्न थालेको अवस्थामा तीनै तहका सरकारले गम्भीर रूपमा चासो देखाएर समन्वयात्मक पहल गर्नुपर्ने उनकाे धारणा छ। त्यस्तै, उनले परम्परागत घर निर्माणलाई प्रोत्साहन गर्नुपर्ने र चराहरूका लागि कृत्रिम गुँड निर्माण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । ।
त्यसैगरी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष मण्डलले जैविक कृषिको प्रवर्द्धनमार्फत चराको आहारालाई सुरक्षित राख्न सकिने उल्लेख गर्दै भने। ‘‘रासायनिक मल र विषादीका कारण चरा मर्ने क्रम बढिरहेको छ, त्यसैले जैविक कृषिलाई प्रोत्साहन गर्नुपर्छ, त्यस्तै चराको सिकारलाई रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको” उनको भनाइ छ।
