संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।
“ युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐन) मा ५१.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस तापक्रम बढी मापन गरिएको जनाइएको छ ।यस अघि सन् २००९ को मे महिनामा अत्यधिक ५०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
युएई पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक मानिन्छ यो विशेष गरी जलवायु परिवर्तनको लागि संवेदनशील छ । युएई विश्वको एक शीर्ष वैश्विक तेल निर्यातकर्ता मुलुक हो भने यहाँको ठूलो क्षेत्र सुख्खा वातावरण (मरुभूमि) का लागि चिनिन्छ । वैज्ञानिकहरूले यहाँ बारम्बार देखिने वायुको उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको स्पष्ट सङ्केत भएको बताएका छन् । विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झण्डै दोब्बर भएको छ ।
ग्रीनपीसको एक अध्ययनअनुसार सन् २०२२ मा जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै भीषण गर्मीको लहरको उच्च जोखिम देखिएको थियो ।
संयुक्त अरब इमिरेट्स (युएई) लगायत छवटा देशलाई केन्द्रित गरी तयार पारिएको प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका लागि ‘अति संवेदनशील’ भएको पाइएको छ ।
