दक्षिणी युरोपमा डढेलोको कहर

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ । सयौँ अग्निनियन्त्रक, दर्जनौँ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । ग्रिसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढेपछि केही क्षेत्रमा स्थानीयवासीलाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द गर्न निर्देशन दिइएको छ ।

ग्रिसको दोस्रो ठूलो सहर थेस्सालोनिकीस्थित ओराइओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा शनिबार साँझ सुरु भएको आगो तीव्र हावाका कारण फैलिएको थियो । त्यसबाट निस्किएको विषाक्त धुवाँका कारण आसपासका तीन उपनगर र १५७ अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासका लागि सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ ।

आगो नियन्त्रणका लागि करिब १६० अग्निनियन्त्रक रातभर खटिएका थिए भने बिहानदेखि पानी बोक्ने विमान परिचालन गरिएको थियो । स्थानीय मेयर पान्डेलिस साकिरिसका अनुसार केही घर र व्यवसायमा क्षति पुगेको छ, यद्यपि विस्तृत विवरण आउन बाँकी छ । यसैबीच, एथेन्सको पश्चिमस्थित मन्द्रा क्षेत्रमा देवदारको जङ्गलमा लागेको अर्को डढेलो नियन्त्रण गर्न २१० अग्निनियन्त्रक, स्वयंसेवक, विशेष टोली तथा २९ हवाई साधन परिचालन गरिएको छ ।

रात परेपछि हवाई उद्धार प्रभावित हुने भएकाले अधिकारीहरूले साँझअघि नै आगो नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारेका छन् ।पोर्चुगलको मध्य भाउजेला क्षेत्रमा बिहीबारदेखि लागेको डढेलो निभाउन एक हजार २०० भन्दा बढी अग्निनियन्त्रक, करिब ४०० सवारीसाधन र १५ वटा विमान परिचालन गरिएको छ ।

युरोपेली सङ्घ (इयु)को कोपर्निकस स्याटेलाइट प्रणालीका अनुसार आइतबारसम्म आगोले करिब १२ हजार हेक्टर क्षेत्र जलाइसकेको छ ।पोर्चुगललाई सहयोग गर्न स्पेनले १२० अग्निनियन्त्रक र ४५ सवारीसाधन पठाएको छ भने इटाली र स्पेनबाट तीनवटा अग्निनिवारण विमान पनि परिचालन गरिएका छन् ।

अधिकारीहरूका अनुसार आगोको तीव्रता केही घटे पनि केही स्थानमा अझै तातो केन्द्रहरू बाँकी छन् ।स्पेनको उत्तरपूर्वी गिरोना क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलोले करिब दुई हजार २०० हेक्टर क्षेत्र जलाइसकेको छ । क्याटालोनिया अग्नि सेवाका अधिकारी एडवर्ड मार्टिनेजका अनुसार आगोको परिधि करिब ४० किलोमिटर पुगेको छ र तत्काल नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ ।

ग्रिसको अग्निशमन विभागले थेस्सालोनिकीको आगलागी सडकछेउको वनस्पतिमा गाडीबाट निस्किएको स्पार्कका कारण सुरु भएको आशङ्कामा ७६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।केही दिनअघि सोही क्षेत्रनजिकै अर्को डढेलोमा १२ वर्षीय बालक र उनका बुबाको मृत्यु भएको थियो । अग्निशमन विभागका प्रवक्ता ब्रिगेडियर आयोनिस आर्टोपियोसका अनुसार ग्रिसका करिब ८५ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण लाग्ने गरेका छन् ।

कृषि उपकरणबाट निस्कने स्पार्क, चुरोटका ठुटा र खुला स्थानमा बारबेक्यु गर्दा हुने असावधानी प्रमुख कारण रहेको उनले बताए। अधिकांश आगलागी सचेतना अपनाए रोक्न सकिने उनको भनाइ छ । ग्रिसले हरेक वर्ष गर्मीयाममा विनाशकारी डढेलोको सामना गर्दै आएको छ । सन् २०१८ मा एथेन्सनजिकैको डढेलोमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०२३ मा उत्तरपूर्वी ग्रिसमा लागेको डढेलो इयुकै इतिहासमा सबैभन्दा ठूलो वनडढेलो बनेको थियो ।

जलवायु परिवर्तनसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै ग्रिसले हालै प्रक्षेपण गरिएका चार उपग्रहमार्फत डढेलो निगरानी प्रणाली सुदृढ बनाउने तयारी पनि गरेको छ । एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *