यस वर्षको सम्मेलनको मुख्य विषयवस्तु जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौती, स्वास्थ्य प्रणालीको उत्थानशीलता, तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चिततामा केन्द्रित रहनेछ। साथै, स्वास्थ्य बीमा, सरुवा र नसर्ने रोग, मानसिक स्वास्थ्य तथा अनुसन्धान नियमनसम्बन्धी विषयमा समेत विस्तृत छलफल हुनेछ।
सम्मेलनमा १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुति गरी कुल २७६ वटा वैज्ञानिक कार्यपत्रहरू प्रस्तुत हुनेछन्। तीमध्ये ८७ वटा मौखिक र ११५ वटा पोस्टर प्रस्तुति हुनेछन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका निर्देशक डा.प्रमोद जोशीका अनुसार,सम्मेलनमा विदेशमा क्रियाशील नेपाली वैज्ञानिकहरूले वातावरण , कृषि र स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान प्रस्तुत गर्नेछन्। ‘‘स्वास्थ्यसँगै कृषि क्षेत्रमा समेत जलवायु परिवर्तनको असर कस्तो छ भन्ने विषयमा बहुआयामिक छलफल हुनेछ,’’ उनले बताए।
राष्ट्रिय योजना आयोग लगायत सम्बन्धित मन्त्रालयको सक्रिय सहभागिता रहने सम्मेलनले दीर्घकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउने जोशीको भनाइ छ।
परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बसाइँसराइका कारण जनसंख्या संरचनामा आएको परिवर्तन र त्यसले स्वास्थ्य सेवामा पारेको प्रभावबारे पनि छलफल हुने जानकारी दिए। ‘‘जनसंख्या घटबढका कारण कतिपय स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयनमा अप्ठ्यारो परिरहेको छ,’’ उनले भने।
परिषदले सम्मेलनको निष्कर्षहरूलाई प्रमाणमा आधारित नीति निर्माणको आधार बनाई दीगो तथा उत्थानशील स्वास्थ्य सेवा सुनिश्चित गर्न भूमिका खेल्ने अपेक्षा राखेको छ।
सम्मेलनमा विभिन्न श्रेणीमा योगदान पुर्याएका वैज्ञानिक तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिनेछ। पुरस्कारहरूमा हेल्थ रिसर्च अवार्ड, यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट यङ हेल्थ रिसर्च अवार्ड, हेल्थ जर्नालिस्ट अवार्ड, तथा गोपाल प्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड रहेका छन्। यस वर्ष हेल्थ जर्नालिस्ट अवार्ड र गोपाल प्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड सम्मेलनमा थप गरिएका नयाँ पुरस्कार हुन्।
