कोलकाता बन्दरगाहबाट हिँडेको कार्गो रेल विराटनगरमा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको तोरी लोड गरेको कार्गो रेल आज विराटनगर १८ स्थित बुधनगरमा रहेको एकीकृत भन्सार जाँच चौकीमा आइपुगेको छ ।

२०८० सालमा उद्घाटन भएको दिन पहिलो पटक कार्गो रेल यहाँ आएको थियो । त्यसपछि बन्द भएको उक्त सेवा तीन वर्षपछि फेरि सुचारु भएको हो । तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने उद्देश्यले सुरु गरिएको रेल कार्गोमा स्वस्तिक आयल इन्डस्ट्रिजको तोरी लोड गरिएको ४० वटा कन्टेनर रहेका छन् ।

कन्टेनरमा सुरक्षित ढुवानीका लागि इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम जडान गरिएको छ । नेपालका लागि पहिलो पटक कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा सञ्चालनमा आएको हो । नेपाली महावाणिज्यदूतावास, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडको समन्वय र सहकार्यमा यो सेवा सञ्चालनमा आएको हो ।

यसअघि तेस्रो मुलुकबाट आयात हुने मालसामानको रेल कार्गो सुविधा नेपालको वीरगञ्ज नाकामा मात्र सीमित थियो । अब विराटनगर नाकासम्म समेत रेल कार्गो सेवा विस्तार भएपछि पूर्वी नेपालका उद्योगी तथा आयात कर्तालाई ठुलो राहत पुग्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दु राठीले बताए ।

रेल कार्गो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटक ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिने छ । सडक मार्गको तुलनामा रेलमार्गबाट हुने ढुवानी सुरक्षित, भरपर्दो र कम लागतमा हुने भएकाले आयातकर्ताको ढुवानी खर्च घट्ने उद्योगी सुयष प्याकुरेलको भनाइ छ ।

कोलकाताबाट विराटनगरसम्म रेलमार्फत करिब २४ घण्टामै मालसामान आइपुग्ने भएकाले ढुवानी समय घट्नेछ । नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात–निर्यातका लागि सडक, रेल तथा जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमसम्बन्धी नियमावली संशोधन गरी कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगर भन्सारसम्म कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो ।

त्यसपछि नेपाली महावाणिज्यदूतावासको पहलमा कोलकाता भन्सारले जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *