आगामी तीन दिन हल्का हिमपातको सम्भावना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएकाे छ।

महाशाखाले बुधबार राती आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज रातिदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हाे ।

यसैगरी, आगामी तीनैदिन मधेस प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति सात वटै प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएकाे महाशाखाले जनाएको छ।

         वर्षाले राहत

देशका विभिन्न स्थानमा वर्षा भएको छ । लामो समयदेखि वर्षा नहुँदा खडेरीसँगै डढेलो, धुलो र धुवाँका कारण वायुप्रदूषण उच्च हुँदा जनजीवन प्रभावित बनेको थियो । मङ्गलबारदेखि देशका विभिन्न स्थानमा वर्षा हुँदा थोरै भए पनि वायुप्रदूषणबाट आमनागरिकले राहत पाएका छन् । आकाशबाट परेको पानीसँगै वायुमण्डलमा रहेको धुवाँ र धुलो धर्तीमा झर्ने क्रम जारी छ ।

बुधबार काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ । ठुलो वर्षा नभएकाले बुधबार साँझसम्म पनि आकाशमा तुवाँलो कायमै देखिएको छ । चैत २९ सम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा कायम रहने मौसमविद् गोविन्द झाले जानकारी दिए  । अझै केही दिन थोरै थोरै भए पनि राम्रो वर्षा भएमा आकाशमा रहेका प्रदूषणका कण खसेर सफा हुने सम्भावना छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षा भएको छ । केहीबेर रोकिँदै फेरि वर्षा हुने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

हल्कादेखि मध्यम वर्षाको क्रम शुक्रबार रातिसम्म कायम रहने जनाइएको छ । स्थानीय तथा पश्चिमी वायुको प्रभावले नेपालमा वर्षा गराएको हो । शनिबारदेखि बिस्तारै मौसममा सुधार हुने अनुमान महाशाखाले गरेको छ । हल्का वर्षासँगै विभिन्न वन तथा संरक्षित क्षेत्रमा लागेको डढेलो मत्थर हुन थालेका छन् । मकै, चैतेधान तथा बर्से तरकारी लगाउने किसानका लागि यो वर्षा सहयोगी बनेकाले किसानमा खुसी छाएको छ ।

काठमाडौँ उपत्यकामा वर्षा, तुवाँलो क्रमिक रुपमा हट्ने

हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले  बताएका छन् ।

वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए  । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *