नयाँ अनुबन्धित खेलाडी जाओ पेड्रोले गरेको दुई गोलको मदतले चेल्सीले बुधबार फ्लुमिनेजलाई २–० ले पराजित गर्दै क्लब वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पेड्रोले चेल्सीका लागि पहिलो पटक सुरुदेखि खेल्न पाएका थिए र उनले त्यसको फाइदा उठाउँदै १८ औं मिनेटमा गोलको खाता खोले ।
मेट लाइफ स्टेडियममा ब्राजिली स्ट्राइकरले खेलले एक घण्टा छुन ठीक अगाडि दोस्रो गोल थपे । अब उपाधिको भिडन्तमा चेल्सीले रियल म्याड्रिड अथवा पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।
ब्राइटनबाट चेल्सी आएका २३ वर्षीय खेलाडी पाल्मेरियासविरुद्धको क्वाटरफाइनलमै मात्र डेब्यु गरेका थिए । हारले प्रतियोगितामा फ्लुमिनेजको उत्कृष्ट यात्रामा पूर्ण विराम लागेको छ ।
उसले सेमिफाइनलसम्मको याक्राका त्रममा बोरुसिया डर्टमुन्ड, इन्टर मिलान र अल–हिलाललाई हराएको थियो । यससँगै प्रतियोगितामा दक्षिण अमेरिकी क्लबको चुनौती पनि सकिएको छ ।
