हिमताल फुट्दा रसुवागढीमा बाढी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालमा उत्तर तिरका हिमालयहरू बाट हिउँ पग्लेर बाढी आउने क्रम बढदै छ, जसले  जनधनको क्षति हुने उच्च जोखिम बढाएको छ ।गतत गत मङ्गलबार बिहान छिमेकी चीनको तिब्बतस्थित हिमालबाट नेपाल–चीन सीमा क्षेत्र हुँदै ठुलो बाढी आयो । नेपालको रसुवादेखि ३५ किलोमिटरमाथि रहेको हिमनदीका बिचमा बनेको हिमताल बिस्फाेट भएर बाढीको सिर्जना भएको हो । हिउँ पग्लेर ठुलो ताल बनेपछि हिमनदीले बाढीको रूप लिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।  हिमनदीको बाढी ल्हेन्देखोला हुँदै भोटेकोशी , त्रिशूलीहुदै फैलिएको हाे ।

चीन र अन्य क्षेत्रबाट प्राप्त स्याटेलाइट तस्बिरहरूले पनि हिमतालको पानी नै बाढी बनेर नेपाल आएको देखाएको छ । आइतबारसम्म भरी देखिएको हिमताल बुधबारको तस्बिरमा आधाभन्दा बढी घटेर सानो देखिएको छ । आइतबार छ लाख ३८ हजार वर्गमिटर पानी रहेको हिमतालमा मङ्गलबार बाढी गएपछि चार लाख ३५ हजार वर्गमिटर मात्र  बाँकी छ । अघिल्लो साता उक्त तालमा पाँच लाख २५ हजार वर्गमिटर क्षेत्रमा पानी रहेको पाइएको छ । प्राधिकरणले जनाएकाे छ , “नेपालतिर बाढी बनेर निकास लिँदा ठुलो कुलेसो बनेको छ । जहाँ अहिले पनि बिचका केही स्थानमा थोरै पानी जमेको देखिन्छ ।”

हिमालको हिउँ पग्लेर बाढी आउनुको कारण जलवायु परिवर्तनको असर मानिएको छ । उता मुस्ताङको लोमन्थाङमा आएको बाढी पनि माथिल्लो भेगमा हिमताल फुटेको वा चुहिएको हुन सक्ने अनुमान गरिएको छ । पत्ता लगाउन जनप्रतिनिधिको टोली त्यसतर्फ गएको छ । गत जेठमा हुम्लाको तिलगाउँभन्दा माथिको हिमाली भेगमा दुई वटा हिमताल फुटेर बाढी आएको थियो ।

विगतका वर्षमा पनि यी जस्तै नेपालका विभिन्न भूगोलका उच्च हिमालको बाढी गाउँ पसेका थिए । गत वर्ष २०८१ सालको साउन अन्तिम साता सोलुखुम्बुको हिमालमा हिमताल विस्फोट हुँदा थामे गाउँ बाढीले तहसनहस बनाएको थियो । २०७८ सालमा मेलम्चीदेखि माथिको हिमाली क्षेत्रमा हिमताल फुटेर बाढी आएको थियो । हिन्दकुश हिमालय क्षेत्रमा तालहरू बढ्ने र फुट्ने क्रम बढेकाले त्यसको छुट्टै अध्ययन हुनुपर्ने प्राधिकरणले जनाएकाे छ   ।

चाइनिज एकेडमी अफ साइन्सका अनुसार रसुवामा आएको बाढी माटो र हिउँले ढाकिएको सुप्राग्लेसियल हिमतालको पानी चुहिएर हिमनदीमा मिसिएको हो ।  जुनसुकै हिमाली भेगमा तापक्रमको उतारचढाव हुँदा बन्ने सुप्राग्लेसियल तालहरू गतिशील र अस्थायी प्रकृतिका हुन्छन् । तिब्बतमा देखिएका धेरै तालहरू सन्  २०२१ भन्दा पहिले त्यहाँ थिएनन् । सन् २०२२ को तस्बिरमा देखिएका साना तालहरू बढ्दै २०२३ मा ठुलो ताल बनेको पाइएको छ । सन् २०२४ मङ्सिरमा पूरै हराएको उक्त ताल गत शनिबार फेरि देखिएको छ ।

हिममण्डल अनुसन्धानकर्ताका अनुसार रसुवामा बाढी आउनु केही दिनअघि हिमनदीको माथि धेरै मात्रामा हिउँ पग्लिएको पाइएको छ । गत शुक्रबार हिमालमा देखिएका हिउँ आइतबार सबै पग्लिएको तस्बिर विश्लेषणले देखाएको छ । यसरी पग्लिएको हिउँ र बरफका ढिक्का हिमनदीमा बनेको ठुलो पोखरीमा जम्मा भएको र पोखरीको वरिपरिकोे जमिन कमजोर भएकाले थेग्न नसकेर बाढीका रूपमा नेपाल आएको अनुमान छ ।

हिमनदीको सतहमा बनेको ठुलो पोखरीमा अहिले पनि पानी रहनुले यस कुरा पुष्टि गरेको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै हिउँ पग्लने क्रम बढ्छ र यही समयमा  वर्षा पनि हुँदा हिमनदीमा बनेको ताल फुट्ने जोखिम हरेक हिमालमा कायम रहदै छ ।

नेपालको हिन्दकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असरका कारण तापक्रम बढ्दो छ, जसका कारण हिउँ पग्लने क्रम तीव्र बन्दै गएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि नेपालमा हिमताल फुट्ने र चुहिने क्रम बढ्दै गएकाले तिनको निरन्तर अनुगमन र अध्ययन हुनुपर्ने जनाएको छ । नेपालमा मात्र २१ वटा जोखिमयुक्त हिमताल छन् । नेपाल पानीढलो भएर जोखिम बढाइरहेका अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ४७ वटा हिमताल छन् । सन् २०१५ यता हिमतालको अध्ययन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *