सीसँग इरान युद्ध नभएर व्यापारिक विषयमा छलफल गर्ने ट्रम्पको घोषणा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँगको शिखर सम्मेलनमा इरान युद्धको विषयमा नभएर व्यापारिक छलफललाई प्राथमिकता दिने बताएका छन्।

‘हामी राष्ट्रपति सीसँग धेरै कुराहरूमा छलफल गर्नेछौँ। म के भन्न चाहन्छु भने, अरू सबै कुराभन्दा बढी व्यापारको विषयमा कुराकानी हुनेछ,’ बेइजिङमा हुने बहुप्रतिक्षित बैठकका लागि प्रस्थान गर्नुअघि मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने।

उनले थपे, ‘हामीसँग छलफल गर्नुपर्ने धेरै कुराहरू छन्। इमानदारीपूर्वक भन्नुपर्दा इरान तीमध्ये एक हो भनेर म भन्दिनँ, किनकि हामीले इरानलाई पूर्ण रूपमा नियन्त्रणमा राखेका छौँ। कि त हामी सम्झौता गर्नेछौँ। नत्र तिनीहरू कुनै न कुनै रूपमा ध्वस्त हुनेछन्।’

चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो। चीनले हाल बन्द रहेको स्ट्रेट अफ हर्मुज तत्काल खोल्न आह्वान पनि गरेको छ। तर इरान युद्धले शिखर सम्मेलन छायामा पारेको भए पनि ट्रम्पले त्यसबारे कुरा नहुने बताएका छन्।

सीसँगको भेटमा व्यापारिक सम्झौताहरू सुरक्षित गर्न र विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्ध व्यवस्थापन गर्न नयाँ व्यापार बोर्डबारे सहमति गर्न ट्रम्प उत्सुक छन्। दुवै पक्षले केही महिना अघि भएको व्यापार युद्ध विरामको समय सीमा बढाउने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरूबीच हुने शिखर सम्मेलनको तयारीका लागि अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्ट र चीनका उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा व्यापार वार्ताकारहरूले दक्षिण कोरियाको सियोलमा वार्ता सुरू गरेका छन्। उनीहरूले तयार पारेको खाकामा ट्रम्प र सीले सहमति गर्ने अपेक्षा गरिएको छ।  (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *