इजरायलतर्फ उडेको विमान दुर्घटना गराउने उद्देश्यले पाइलटमाथि चक्कु प्रहार भएको खुलासा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबई यात्रुवाहक विमानलाई अपहरण गरी दुर्घटना गराउने गम्भीर प्रयास भएको खुलासा भएको छ। उडानका क्रममा सह-पाइलटले मुख्य पाइलटमाथि धारिलो चक्कु प्रहार गरी विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरेपछि ठूलो दुर्घटनाको जोखिम सिर्जना भएको थियो।

ककपिटमा भएको झडपका कारण ३४ हजार फिटको उचाइमा उडिरहेको विमान एक्कासि तीव्र गतिमा तल खसेको थियो। तर अर्का पाइलट, यात्रु तथा उडानमै सवार सादा पोशाकका (अफ-ड्युटी) पाइलटहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि सम्भावित ठूलो महाविपत्ति टरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।

कसरि भयो घटना ?

दुबईबाट १८० जना यात्रु लिएर उडेको बोइङ ७३७ म्याक्स (उडान नम्बर एफजेट १०७३) विमान उत्तर-पश्चिम साउदी अरेबियाको आकाशमा उडानका क्रममा सह-पाइलटले अचानक मुख्य पाइलटमाथि चक्कु प्रहार गर्दै विमानलाई जमिनतर्फ लैजाने प्रयास गरेका थिए। आक्रमणका कारण १ देखि २ मिनेटको छोटो समयमै विमान ३४ हजार फिटबाट तीव्र रूपमा खसेर १६ हजार ६ सय फिटमा आइपुगेको थियो।

विमान एक्कासि तल खस्न थालेपछि ककपिटबाट आएको चिच्याहट सुनेर केही इजरायली यात्रु र सादा पोशाकका पाइलट ककपिटतर्फ दौडिएका थिए। उनीहरूले आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिएका हुन्। सोही क्रममा विमानमा रहेका एक इजरायली दन्तचिकित्सकले गम्भीर घाइते पाइलटको प्राथमिक उपचार गरी ज्यान बचाएका थिए।

घटनालगत्तै विमानबाट सुरुमा संकटकालीन अवस्था जनाउने कोड ‘७७००’ र लगत्तै अपहरणको संकेत गर्ने कोड ‘७५००’ पठाइएको थियो। हाइज्याकको अलर्ट प्राप्त हुनासाथ इजरायली वायुसेनाले आफ्ना फाइटर जेटहरू परिचालन गर्नुका साथै केही समयका लागि आफ्नो हवाई क्षेत्रसमेत बन्द गरेको थियो।

पछिल्लो समय फाइटर जेटको निगरानीमा विमानलाई उत्तर-पश्चिम साउदी अरेबियाको ताबुकस्थित ‘प्रिन्स सुल्तान बिन अब्दुलअजिज’ विमानस्थलमा सुरक्षित आकस्मिक अवतरण गराइयो। विमान सुरक्षित रूपमा अवतरण भएपछि यात्रुहरूले ताली बजाएर खुसी व्यक्त गरेका थिए।

प्रारम्भिक छानबिनअनुसार आक्रमणकारी सह-पाइलट ओमानका नागरिक रहेको खुलेको छ। इजरायली सुरक्षा निकायहरूले यस घटनालाई सम्भावित आतंकवादी आक्रमणका रूपमा अनुसन्धान अघि बढाएका छन्। समयमै नियन्त्रणमा नलिइएको भए सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएजस्तै विनाशकारी घटना हुन सक्ने इजरायली अधिकारीहरूले बताएका छन्। घटना लगत्तै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्रीले उच्चस्तरीय सुरक्षा बैठक बाेलाएर वस्तुस्थितिबारे जानकारी लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *