सरकारी गाडी घरमा थन्काएर विशेष अदालतका अध्यक्ष बासुदेव आचार्यका लागि जीप माग गरिएको खुलेको छ । उनले चढ्दै आएको सुविधाको बा.१७.च.२५१७ नम्बरको कार निवासमा थन्काएर नयाँ जीप माग गरिएको पाइएको हो । रजिष्ट्रार वेदप्रसाद उप्रेतीले अध्यक्षका लागि बलियो जीप टाइपको गाडी आवश्यक परेकाले उपलब्ध गराइदिन भन्दै गत भदौ २४ गते अर्थ मन्त्रालयका सचिवलाई पत्र लेखेका थिए ।
अध्यक्षले २०७३ सालदेखि चढ्दै आएको बा.१७.च.२५१७ नम्बरको कार पुरानो भएर बिग्रिएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ,‘यस अदालतका अध्यक्ष माननीय न्यायाधीश श्री बासुदेव आचार्यले सुविधाको बा.१७.च.२५२८ (बा.१७.च.२५१७) नम्बरको गाडी २०७३ सालदेखि हालसम्म प्रयोग गर्नुभएकोमा उक्त गाडी पुरानो भई बिग्रिएको हुँदा परिवर्तन गर्न आवश्यक भएकोमा तत्काल उपलब्ध गराउन नसकिएको र यस अदालतको क्षेत्राधिकार भएका सबै जिल्लामा समेत फैसला कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन निरीक्षण गर्नुपर्ने कार्य समेतलाई ध्यानमा राख्दा बलियो जीप टाइपको गाडी आवश्यक भएको…।’
आचार्यले उच्चमा न्यायाधीश हुँदा सो गाडी पाएका थिए । सो गाडी अहिलेपनि उनकै घरमा छ । सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बर प्लेट हालेर उनले प्रयोग गरिरहेका छन् । गाडी घरमै भएको अवस्थामा नयाँ जीप माग गरिएको विषयमा जनआस्थाले रजिष्ट्रार उप्रेतीसँग बुझ्न खोजेको थियो । तर, उनले मिटिङमा भएको बताउँदै कुरा गर्न मानेनन् । ‘म अहिले मिटिङमा छु, पछि कुरा गरौंला’,उनले भने ।
