अध्यक्ष ओली हटाउन एमालेमा तीन गुट सक्रिय

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको घेराबन्दी फराकिलो बन्दै गइरहेको छ । ओलीविरुद्ध घेराबन्दी गर्दै नेतृत्व छोड्न दबाब बढाउन थालिएको छ । ओली विरोधीका साथै संस्थापन पक्षकै नेताहरू एकजुट बन्न थालेपछि नेतृत्व छोड्नुपर्ने बाध्यता सृजना भएको छ ।

अध्यक्ष ओली निकट मानिने उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेता नै नेतृत्व हस्तान्तरण पक्षमा उभिएका छन् । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका इश्वर पोखरेल समूहसमेत ओलीको विकल्प खोज्दै विष्णु र शंकरसंग नजिकिएका छन् । पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले ओलीको सम्मानजनक बहिर्गमनसहित नेतृत्व हस्तान्तरण हुनुपर्ने एजेन्डा सहित अघि बढेकी छन् ।

२१ फागुनको निर्वाचनमा अध्यक्ष ओली सहितका एमाले नेताहरूको लज्जास्पद हार भएको थियो । निर्वाचनमा भएको लज्जास्पद हार, नेतृत्वप्रतिको बढ्दो वितृष्णा र जेनजी आन्दोलनपछि बदलिँदो परिस्थिति अनुसार एमालेमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस निर्णायक बन्दै गइरहेको छ । तर ओलीको स्वास्थ्य समस्याका कारण एमालेको चुनावी समीक्षा (केन्द्रीय कमिटी) बैठक बस्न सकेको छैन । बैठक अझै एक महिनासम्म बस्न नसक्ने बताइएको छ ।

एमालेभित्र नयाँ समीकरण बन्दै गइरहेको छ । संस्थापन निकटकै विष्णु, शंकरसहित नेतृत्व हस्तान्तरणको नेतृत्व गर्दै आएको विद्या, इश्वरसहितका समूह एकजुट हुन थालेपछि अब बस्ने केन्द्रीय कमिटीको बैठकमै नेतृत्व छोड्ने र पार्टी पुनर्गठन गर्ने प्रस्ताव ल्याउने तयारी भइरहेको नेताहरू बताउँछन् ।

नेतृत्व हस्तान्तरणसहित पार्टी पुनर्गठनको माग गर्दै युवा विद्यार्थी नेता एकजुट हुन थालेका छन् । विद्या, इश्वर निकट मानिने युवा विद्यार्थी नेताको भेलाले अध्यक्ष ओलीको बहिर्गमन र पार्टी पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

नेपाल कमर्स क्याम्पस, मीनभवनमा भएको सो भेलामा विष्णु, शंकरसहितका नेतासमेत पुगेका थिए । भेलामा नेताहरू झपट रावल, नवीना लामा, रमेश पौडेल, गजेन्द्र थपलिया, समिक बडाल, नरेश रोकाय, उपेन्द्र शाही, डा.उज्ज्वल कडरिया, रोशन बस्नेत, कमल जोशी लगायतका युवा विद्यार्थी नेता सहभागी थिए ।

भेलामा नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले ‘नेकपा एमाले पुनर्जागरण, रूपान्तरण र पुनर्संरचना मार्गचित्र, २०८३’ शीर्षकको अवधारणापत्र प्रस्तुत गर्दै पुनर्गठन अनिवार्य भएको पुष्टि गर्न खोजको थिए । राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतका अनुसार अध्यक्षको सम्मानजनक बहिर्गमनपछि मात्र संगठनात्मक पुनर्संरचनाको बाटो खुल्ने र अन्तरिम संगठन कमिटीमार्फत महाधिवेशनतर्फ अघि बढ्नुपर्ने धारणा राखिएको थियो ।

‘पार्टी अध्यक्षको सम्मानजनक बहिर्गमनबाट मात्र पुनर्गठनको ढोका खुल्छ, उहाँ अब संरक्षक भएर जान पनि तयार हुनुपर्छ, तर पुनर्गठनको अर्थ मूल नेतृत्व मात्र होइन, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी सबै विघटन गरी अन्तरिम कालका लागि संगठन कमिटी बनाएर पुनर्गठन अभियान सम्पन्न गरी महाधिवेशनतिर जाने कुरा उपयुक्त हुन्छ भन्ने कुरा उठेको छ,’ बस्नेतले भने ।

पछिल्लो समय विष्णु, शंकरसहितका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । ओलीलाई भेट्न पुगेका नेताहरूले जिल्ला, प्रदेशबाट आएको निर्वाचन समीक्षा रिपोर्ट र सुझाव अनुसार पार्टीभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका लागि राजीनामा दिनुपर्ने आवाज उठिरहेको ’boutमा जानकारी गराएका छन् ।

ओलीलाई राजीनामा दिन बाध्य पारे पनि उनीपछि नेतृत्व कसले गर्ने भन्ने ’bout नेताहरू मौन छन् । विद्या, इश्वर, विष्णु, शंकरसहितका नेताहरू नेतृत्वपछि टुंगो लगाउने गरी अहिलेका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत छन् । ओलीले सहजरुपमा राजीनामा नदिए हस्ताक्षर अभियान चलाएर विशेष महाधिवेशनसम्म पुग्नुपर्नेमा नेताहरू एकमत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *