कम्तीमा तीन जनाको मृत्यु, चार जनामा संक्रमण । हान्टा भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चासो पैदा गरेको छ । पछिल्लोपटक गत महिना १४७ यात्रु र चालक दलका सदस्य बोकेको एक लक्जरी क्रुज जहाजमा यो फैलिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार एक बिरामीको अवस्था गम्भीर छ भने अन्य तीन जनामा हल्का लक्षण देखिएका छन् ।
हान्टा भाइरसले हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम (HPS) र हेमोर्याजिक फिबर तथा पिसाबसम्बन्धी संक्रमण (HFRS) जस्ता रोगहरू निम्त्याउन सक्छ ।
अमेरिकी सञ्चारमाध्यमहरूले सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) लाई उद्धृत गर्दै यो प्रकोपलाई ‘लेभल ३’ मा राखिएको उल्लेख गरेका छन् । जसको अर्थ यो रोग लागेमा आपतकालीन रूपमा प्रतिक्रिया जनाउनुपर्छ । यो कस्तो संक्रमण हो र यसबारे हामीले थाहा पाउनुपर्ने कुराहरू के हुन् भनेर काठमाडौं पोस्टले भाइरोलोजिस्ट, महामारीविज्ञ तथा स्वास्थ्य अधिकारीहरूसँग कुरा गरेको छ ।
हान्टा भाइरस के हो र यो मानिसमा कसरी सर्छ ?
मुख्य रूपमा मुसा र मुसा प्रजातिका जंगली जनावरहरू यस भाइरसका मुख्य वाहक हुन् । यो भाइरसले व्यक्तिमा गम्भीर रोग र मृत्यु निम्त्याउन सक्छ । यसको असर श्वासप्रश्वास, मिर्गौला र फोक्सोमा देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मुसा र मुसा प्रजातिका जंगली जनावरहरूको दिसा, पिसाब वा र्यालसँग नजिकको सम्पर्कबाट वा दूषित सतह छोएर वा सफा गर्दा सर्छ ।
ग्रामीण क्षेत्रका मानिसहरू, जो खेतीपाती वा फार्ममा काम गर्छन् र त्यहाँ मुसा र मुसा प्रजातिका जंगली जनावरहरू छन् भने उनीहरू यो संक्रमणमा पर्ने जोखिममा छन् ।
पछिल्लो संक्रमणको विषय किन विश्वव्यापी रूपमा चिन्ताको विषय बन्यो ? मा मृत्युदर करिब ३५ देखि ४० प्रतिशतसम्म हुन्छ । केही प्रकोपहरूमा यो ५० प्रतिशतसम्म पुगेको देखिन्छ ।
पछिल्लोपटक कम्तीमा ३ जनाको मृत्यु र अन्य धेरै गम्भीर रूपमा बिरामी भई अस्पताल भर्ना भएपछि यो प्रकोपबारे विश्वव्यापी सार्वजनिक स्वास्थ्य चिन्ता सुरु भएको हो ।
अर्जेन्टिनाबाट छुटेको एमभी होन्डियुस नामक उक्त लक्जरी जहाजमा अर्जेन्टिना, क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, फिलिपिन्स, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्यान्ड, बेलायत र अमेरिकालगायत देशका नागरिकहरू सवार थिए । जहाजमा सवार केही यात्रु भने अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, ग्रीस, ग्वाटेमाला, भारत, आयरल्यान्ड, जापान, मोन्टेनेग्रो, न्यूजिल्यान्ड, पोल्याण्ड, रुस, टर्की र युक्रेनबाट आएका थिए । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले क्रुज जहाजमा देखिएको ह्यन्टा भाइरस प्रकोपबाट विश्वव्यापी जनसंख्यामा जोखिम न्यून रहेको मूल्याङ्कन गरेको छ ।
के नेपालमा यसअघि कहिल्यै हान्टा भाइरस देखिएको थियो ?
हालसम्म नेपालमा कसैमा पनि हान्टा भाइरस देखिएको पुष्टि भएको छैन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले प्रकाशित गरेको एक रिपोर्टअनुसार सन् २०१७ मा नेपाल भ्रमणबाट फर्केका एक स्पेनी यात्रुमा हान्टा भाइरसले श्वासप्रश्वासजन्य समस्या देखिएको थियो । उक्त अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरूले ती स्पेनी यात्रु नेपालकै कुनै लजमा बस्दा मुसा वा मुसा प्रजातिका जनावरसँगको सम्पर्कमा पुगेको र त्यस्तो संक्रमण देखिएको हुनसक्ने आशंका गरेका छन् ।
के यो मानिसबाट मानिसमा सर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित व्यक्तिसँग बन्द कोठाभित्र बस्दा वा समुदायमा संक्रमण फैलिएको अवस्थामा मात्रै यो मानिसबाट मानिसमा सरेको देखिन्छ । तर, यस्तो संक्रमण निकै कम देखिन्छ । पहिचानमा आएका हान्टा भाइरसका भेरिएन्टमध्ये एन्डिस स्ट्रेन मात्रै मानिसबाट मानिसमा सर्ने भेरिएन्ट हो । यो भेरिएन्ट चिली र अर्जेन्टिनामा समय–समयमा फैलिने गरेको छ ।
नेपालका विशेषज्ञहरू के भन्छन् ?
हालसम्म नेपालमा हान्टाभाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन । नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक आवागमन धेरै हुने भएकाले विश्वका कुनै पनि स्थानमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अस्पतालमा मुसाको टोकाइको उपचारका लागि आएको एक बिरामीको सन्दर्भ सुनाउँदै भने, ‘नेपालमा दैनिक एक दर्जनभन्दा बढी मुसाको टोकाइका केस आउँछन् ।’ उनले नेपालमा धेरै मानिसहरूको मृत्यु श्वासप्रश्वाससम्बन्धी रोगबाट हुने तर यसको वास्तविक कारण आफूहरूलाई थाहा नहुने बताए । विशेषज्ञहरूका अनुसार नेपालका मुसामा हान्टा भाइरस भए/नभएको विषयमा हालसम्म कुनै अध्ययन भने भएको छैन ।
धुलिखेल अस्पतालका चिकित्सकहरूले निमोनियाका बिरामीहरूको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन अनुरोध गरेका छन्, ताकि ती बिरामीमा हान्टा भाइरस संक्रमण छ कि छैन भन्ने परीक्षण गर्न सकियोस् । काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा. राजीव श्रेष्ठले भने, ‘नेपालमा हान्टा भाइरस भाइरस छ कि छैन भनेर दुई हप्तापछि सोध्नुभयो भने म प्रमाणसहित भन्न सक्छु ।’ काठमाडौं विश्वविद्यालयमा सरुवा रोग, एन्टिमाइक्रोबियल रेसिस्टेन्स, औषधि तथा खोप परीक्षण, मेटाजेनोमिक्स र होल-जीनोम सिक्वेन्सिङको जिम्मेवारी सम्हालिरहेका उनले थपे, ‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जीनोम सिक्वेन्सिङका लागि नमुना पठाउन अनुरोध गरेका छौं । यसको नतिजा आउन दुई हप्ता लाग्छ ।’
स्वास्थ्य अधिकारीहरू के गर्दैछन् ?
अधिकारीहरूले घातक भाइरसको सम्भावित प्रकोपबारे सम्बन्धित सरोकारवालासँग छलफल गरिसकेको र परीक्षण तयारी सुरु गर्ने निर्णय गरेको बताएका छन् । त्यसका लागि उनीहरूले WHO को नेपाल कार्यालयसँग समन्वय गरिरहेका छन् ।
‘हान्टा भाइरसका लागि आवश्यक परीक्षण किट बजारमा सहजै उपलब्ध हुँदैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन्, ‘हामी WHO का अधिकारीहरूसँग नजिकको सम्पर्कमा छौं । WHO मुख्यालयले हामीलाई परीक्षणका लागि आवश्यक रियाजेन्ट उपलब्ध गराउने वा शंकास्पद नमुना विदेशस्थित WHO को प्रयोगशालामा पठाउन सहयोग गर्नेछ ।’
संक्रमणपछि देखिने लक्षणहरू के हुन् र यसको उपचार के छ ?
हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने, तथा वाकवाकी, बान्ता, झाडापखाला र पेट दुखाइ जस्ता पाचनसम्बन्धी समस्या देखिन्छन् । त्यसपछि अचानक श्वासप्रश्वासमा समस्या र रक्तचाप बढ्ने अवस्था देखिन्छ । यसको लक्षण भाइरसको सम्पर्कपछि दुईदेखि चार हप्ताभित्र देखिन सक्छ, कहिलेकाहीँ एक हप्ताभित्रै वा आठ हप्तासम्म ढिलो पनि हुन सक्छ ।
हान्टा भाइरसको कुनै विशेष औषधि, खोप वा एन्टिभाइरल उपचार छैन । चिकित्सकहरूले केवल सहायक उपचार मात्र दिन्छन्, त्यसैले समयमै पहिचान गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।
साभारः कान्तिपुर दैनिक
