विशेष महाधिवेशन बोलाउन कांग्रेसमा हस्ताक्षर अभियान सुरु

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली काँग्रेसको विशेष महाधिवशेन बोलाउन हिजो सोमबारदेखि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् । काँग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ । विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।

विधानको दफा १७ (२) मा भनिएको छ,’केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ ।’

विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको अगुवा नेताहरुले जानकारी गराएका छन् । हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ गर्ने मध्येका एक नारायण भट्टराईले जानकारी गराए । उनले भने, ‘हस्ताक्षर अभियानमा यो त्यो समूह भन्ने छैन । विशेष महाधिवेशन माग गर्ने सबै पक्षका साथीहरू हुनुहुन्छ ।’

परिवर्तित राजनीतिक अवस्था र विषम परिवेशमा काँग्रेस मूकदर्शक भएर बस्न नहुने हस्ताक्षरकर्ताहरुले विज्ञप्ति निकालेर जनाएका छन् । ‘अहिलेको परिस्थिति आउनुमा विगतमा पार्टीले अख्तियार गरेका नीति, निर्णय, कदम, काम कारबाही त जिम्मेवार छैनन् ? भनी नेतृत्वलाई प्रश्न गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । नेतृत्वको कार्यशैलीमा प्रश्न उठाउनेहरूलाई किनाराकृत र विभेद गरिएको विज्ञप्तिमा उल्लेख छ ।काँग्रेसका केही भ्रातृ संस्था र केही जिल्ला तथा स्थानीय तहको नेतृत्वले पनि विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *