पृथ्वीराजमार्गको विकल्पः गोरखा सडक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

केही दिनदेखि आँबुखैरेनी गोरखा सडक अत्याधिक व्यस्त बनेको छ । गत शुक्रबार मुग्लिन नारायणगढ सडक र मुग्लिन मलेखु सडकखण्ड पहिरोले अवरुद्ध भएपछि पृथ्वीराजमार्गमा गुड्ने गाडीहरु गोरखा, आरुघाट, धादिङबेशी हुँदै मलेखु निस्कन थालेका हुन् ।

‘पृथ्वीराजमार्ग डिस्टर्ब भएको धेरै दिन भइसक्यो । त्यसैले हिजोआज पोखरा, बाग्लुङ, म्याग्दी, मुस्ताङ, लम्जुङका गाडीहरु मध्यपहाडी लोकमार्गहुँदै मलेखु निस्कन थालेका छन्,’ गोरखा दरौँदी यातायात प्रालिका अध्यक्ष दीपक बोहोरा भन्छन्, ‘विशेषगरी माइक्रोबस, कार, जीप, भ्यान, बाइकहरुचाहिँ आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेशी हुँदै मलेखु निस्कन्छन् ।’

दैनिक सयौंको संख्यामा सवारी साधन मध्यपहाडी राजमार्ग तथा गोरखा बजार हुँदै आवतजावत गर्ने गरेको उनले बताए । गोरखा, आरुघाट हुँदै घुमेर मलेखु झर्दा दुईघण्टा समय थप लागेता पनि यात्रुहरू गन्तव्यमा पुग्न सम्भव भएको उनले बताए ।

गोरखाका विभिन्न ग्रामीण सडकबाट सदरमुकाम आउने गाडीले भरिभराउ हुने गोरखा बजार अहिले लम्जुङ, तनहुँ, पोखरादेखि आएका गाडीहरूले भरिभराउन हुन थालेका स्थानीय बताउँछन् ।

‘यतिबेला यसै पनि दशैंका कारण बजारमा गाडीको चाप धेरै हुन्छ । झन् बाहिर जिल्लाबाट समेत गाडी आउन थालेपछि भीडभाड बढेको छ,’हरमटारीचोकमा व्यापारी भरत भट्ट भन्छन्, ‘पोखरा, बेसिसहर, दमौलीदेखि आएका गाडी गोरखा बजार हुँदै हिँडेको देख्दा अनौठो पनि लागिरहेको छ ।’

मुग्लिन नारायणगढको तुइनखोलामा पहिरो झरेपछि गत शुक्रबारदेखि सो सडकमा सवारी गुड्न अवरोध भइरहेको छ । त्यस्तै सोमबार राति जवाङखोलामा झरेको सुख्खा पहिरोले मुग्लिन मलेखु सडकखण्डमा मंगलबार बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *