बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो पदबाट राजीनामा दिएका छन्। अप्रिल २०२३ देखि राष्ट्रपतिको रूपमा कार्यरत ७६ वर्षीय शहाबुद्दीनले आफ्नो कार्यकाल पूरा हुनुभन्दा अगाडि नै शुक्रबार सभामुख उद्दिन अहमदसमक्ष राजीनामा बुझाएका हुन्।
उनले राजीनामा पत्रमा मुटुको रोग, उच्च रक्तचाप र न्युरोप्याथी जस्ता गम्भीर स्वास्थ्य समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन्। राष्ट्रपति पद रिक्त भएपछि बंगलादेशको संविधानको धारा ५४ बमोजिम नयाँ राष्ट्रपति निर्वाचित नचुनिँदासम्मका लागि राष्ट्रिय संसद् (जातीय संसद्) का सभामुख हाफिज उद्दिन अहमदले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हालेका छन्।
संसद्का सभामुख अहमद हालै मात्र थाइल्याण्डमा स्वास्थ्योपचार गराई स्वदेश फर्किएका हुन्। संविधानको व्यवस्था अनुसार राष्ट्रपति पद रिक्त भएको ९० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानुनी प्रावधान छ।
जुलाई-अगस्ट २०२४ को जनआन्दोलन र शेख हसिना सरकारको पतनपछि मोहम्मद शहाबुद्दीनको पदलाई लिएर बंगलादेशमा लामो समयदेखि राजनीतिक बहस र दबाब चल्दै आएको थियो।
हालै पूर्वप्रधानमन्त्री हसिनाले स्वदेश फर्कने तयारी गरेपछि शहाबुद्दीनमाथि राजीनामा दिन दबाब अझ बढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२६ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा भारी बहुमत हासिल गरी सत्तामा आएको प्रधानमन्त्री तारिक रहमानको दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले अब रिक्त रहेको नयाँ राष्ट्रपतिका लागि उम्मेदवार चयन गर्न आन्तरिक छलफल तीव्र पारेको छ।
