सुख्खा पहिरोले राप्ती राजमार्ग अवरुद्ध

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडकखण्डमा सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि सवारी आवागमन अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक बिहान करिब ११:३० बजे एक्कासि सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण ठूलो सङ्ख्यामा साना तथा ठूला सवारीसाधन सडकमा रोकिएका छन् । सल्यान प्रहरीले चोरखोला नजिक करिब ८० मिटर सडक क्षेत्रमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।

पहिरो पन्छाउन स्काभेटर प्रयोग गरी काम सुरु गरिएको छ । सडकमा खसेको पहिरोको मात्रा र सडकको अवस्थाका कारण आवागमन नियमित हुन चारदेखि पाँच घण्टासम्म लाग्न सक्ने प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

सडक अवरुद्ध भएपछि कपुरकोट हुँदै तुलसीपुरतर्फ तथा तुलसीपुरबाट सल्यानतर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

राप्ती राजमार्ग सल्यानलाई दाङ, तुलसीपुर तथा अन्य जिल्लासँग जोड्ने प्रमुख सडक भएकाले पहिरोका कारण यातायात प्रभावित भएको हो । पहिरो पन्छाउने काम पूरा भएपछि मात्र सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने प्रहरीले जनाएको छ ।

वर्षात्को समय सकिए पनि राजमार्गका विभिन्न क्षेत्रमा सुख्खा पहिरो तथा ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *