कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षासँगै आगामी चार वर्षको राजनीतिक, वैचारिक र सांगठनिक दिशा अघि सारेका छन् ।
‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ नाम दिइएको प्रस्तावमा कांग्रेसलाई निर्वाचन जित्ने राजनीतिक संगठनमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोडिएको राष्ट्रिय शक्तिका रूपमा पुनर्निर्माण गर्ने अवधारणा अघि सारिएको छ ।
२००७ सालदेखि संविधान निर्माण, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म कांग्रेसले खेलेको भूमिकाको समीक्षा गर्दै उपलब्धिसँगै कमजोरी स्वीकार गरेको छ । विशेषतः २०६२/६३ पछि प्राप्त राजनीतिक उपलब्धि संविधानमा संस्थागत भए पनि त्यसको प्रतिफल नागरिकको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको उनको प्रतिवेदनमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा पहुँच, सामाजिक सुरक्षा र सम्मानजनक जीवनका नागरिक अपेक्षा पूरा गर्न नसकिएको भन्दै कांग्रेसले त्यसको जिम्मेवारीबाट पन्छिन नहुने भनिएको छ ।
प्रतिवेदनमा कांग्रेसको कमजोरीका रूपमा सत्ता र पदकेन्द्रित राजनीति, गुटगत स्वार्थ, भ्रष्टाचार तथा अनियमिततामा आफ्ना मानिसको संरक्षण, नियुक्तिमा भागबन्डा र योग्यता तथा क्षमताभन्दा नेतृत्वसँगको निकटतालाई प्राथमिकता दिइएको विषय उठाइएको छ ।
चुनावका बेला गठबन्धन र टिकट वितरणमा केन्द्रित हुने तर अध्ययन, नीति निर्माण र सामाजिक कामलाई पर्याप्त प्राथमिकता नदिने प्रवृत्तिले पार्टीको सार्वजनिक विश्वास कमजोर बनाएको पनि स्वीकार गरिएको छ ।
