कपिलवस्तुको सुठौली नाका हुँदै भारत फर्किँदै गरेका दुईवटा खाली भारतीय ट्रकबाट लाखौं मूल्यको ओखर र बिउविजन बरामद भएको छ। नेपालका भन्सार र सुरक्षा निकायले जाँचविना नै छाडेका ती ट्रकलाई भारतीय खुनुवा कस्टमले नियन्त्रणमा लिएपछि सीमा क्षेत्रमा हुने तस्करीको नयाँ शैली खुलेको हो।
तस्करहरूले सिमेन्टको कच्चा पदार्थ (फ्लाई ऐस) बोकेर आउने भारतीय मालबाहक सवारी साधनलाई तस्करीको हतियार बनाएका हुन्। नेपालमा सामान खसालेर फर्किने खाली ‘बुलेट ट्रक’ भित्र फल्स बटम बनाएर तेस्रो मुलुकबाट आयात हुने महँगा सामान भारततर्फ तस्करी हुने गरेको खुलेको छ।
भारतीय खुनुवा कस्टमका अधिकारी अनिलकुमार सिंहका अनुसार सुराकीका आधारमा चेकजाँच गर्दा यूपी ४७ एटी २५०१ र यूपी ४७ एटी १९१३ नम्बरका ट्रकबाट अवैध सामान बरामद भएको हो।
२५०१ नम्बरको ट्रकबाट ४० किलो दरका ३ सय ४६ बोरा खरबुजा र फर्सीको बिउ तथा १९१३ नम्बरको ट्रकबाट १० किलो दरका १ हजार ८२ बोरा ओखर बरामद गरिएको छ। अधिकारी सिंहका अनुसार एउटा ट्रकका चालक र सहचालक पक्राउ परेका छन् भने अर्को ट्रकका फरार छन्।
सुठौली भन्सार कार्यालयका अनुसार ती दुवै ट्याङ्कर असोज पहिलो साता नेपाल आएका थिए र दोस्रो साता काठमाडौंमा सामान झारेर फर्किएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार ती ट्रकमा भैरहवाबाट तस्करीका सामान लोड गरी भारतको बस्ती लैजान लागिएको थियो। नवलपरासी, रुपन्देही र बर्दिया नाकामा कडाइ भएपछि तस्करले कपिलवस्तुलाई ट्रान्जिट बनाएको अनुमान गरिएको छ।
मुख्य नाकामा भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ हुँदाहुँदै यति ठूलो परिमाणको सामान कसरी पार भयो भन्नेमा नेपालको सुरक्षा संयन्त्र र भन्सारको लापरबाही देखिन्छ।
भारत फर्किने खाली गाडीलाई अनिवार्य धर्मकाँटामा तौल गरेर मात्र पास गर्नुपर्ने नियम छ। तर, भन्सार कार्यालयले विनाजाँच पास दिएपछि तस्करले यसैलाई हतियार बनाएका हुन्।
सुठौली भन्सारका प्रमुख किरण बिष्टले सिमेन्टको कच्चा पदार्थ बोक्ने ट्याङ्करलाई यसअघि कहिल्यै नापजाँच गरी नपठाइएको स्वीकार गरे। ‘यसरी तस्करी हुन्छ भन्ने थाहै थिएन, सिमेन्टको कच्चा पदार्थ बोक्ने गाडी लो रिस्क क्षेत्रमै राखेका थियौं,’ उनले भने, ‘भारतीय कस्टमले समातेपछि अब बल्ल थाहा पायौं। अब निगरानी बढाउँछौं।’
भन्सारले गल्ती स्वीकार गरिरहँदा सुरक्षा निकायले भने भन्सारतर्फ नै औंला ठड्याएका छन्। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले सवारीसाधन जाँच गर्ने पहिलो दायित्व भन्सारकै भएको दाबी गरे। ‘भन्सारले तौल गरेको भए यसको जानकारी हुन्थ्यो, त्यत्रो ठूलो गाडीभित्र माल छ/छैन भनेर हामीले थाहा पाउने अवस्था नै हुन्न,’ उनले भने।
त्यसैगरी, प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले पनि चेकजाँच गर्ने प्रमुख जिम्मेवारी भन्सारकै रहेको बताए। यद्यपि, उनले सुरक्षाकर्मीको पनि दायित्व हुने भन्दै घटनाको विषयमा छानबिन जारी रहेको जानकारी दिए।
भन्सार कार्यालय केवल आयातमुखी हुने र सुरक्षा निकाय खुला सीमाको खुद्रा चुहावटमा मात्र केन्द्रित हुँदा मुख्य नाकाबाटै सेटिङमा हुने ठूलो तस्करी नियन्त्रणमा चुनौती देखिएको स्थानीय व्यापारीहरू बताउँछन्।
