वीरगन्जका डाक्टर हड्तालमा उत्रिएपछि अस्पतालको उपचार सेवा ठप्प

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य
आइतबार वीरगन्जमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टर हड्तालमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ।

नारायणी अस्पतालमा शनिबार चिकित्सकमाथि भएको हातपात र तोडफोडको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सक सम्पूर्ण उपचार सेवा ठप्प पारेर हड्तालमा उत्रिएका हुन्। शनिबार बिहान नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि ल्याइएका वीरगन्ज महानगरपालिका-२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो। पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाउँलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत डा. प्रमोद राममाथि कुटपिट गरेको आरोप छ। कुटपिटबाट घाइते डा. राम आइसियुमा उपचाररत छन्।

उक्त घटनापछि अस्पतालकै सभाकक्षमा शनिबार साँझ बसेको अस्पताल प्रशासन, पीडित पक्ष, प्रहरी प्रशासन सहितको बैठकले घटनाका बारेमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

अस्पतालमा तोडफोड गरिएको र चिकित्सक कुटिएको अवस्थामा उल्टै दोषीलाई कारबाही गर्नुको साटो चिकित्सकलाई निलम्बित गरेको भन्दै वीरगन्जका चिकित्सक विरोधमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा आइतबार दिउँसोदेखि वीरगन्जमा रहेका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवासहित सबै सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकको उपचार सेवा ठप्प पार्ने निर्णय गरेको हो।

बैठकले डा. राम सहितका स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण, अस्पतालमा गरिएको तोडफोड र अवाञ्छित गतिविधिमा संलग्न दोषीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ। शनिबारको घटनापछि निलम्बन गरिएका नारायणी अस्पतालका चिकित्सक सहितका ५ जना स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता गर्नुपर्ने संघले माग गरेको छ।

साथै संघले नारायणी अस्पतालसहित सम्पूर्ण सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कुनै पनि प्रकारको डर, त्रास, धम्की वा दबाब बिना सुरक्षित वातावरणमा पेसागत दायित्व निर्वाह गर्न सक्ने गरी प्रभावकारी र दिगो सुरक्षा व्यवस्थाको तत्काल ग्यारेन्टी गर्न पनि माग गरेको छ।

माग सम्बोधन नभएसम्म वीरगन्जमा रहेका नारायणीसहित सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू, मेडिकल कलेजमा आकस्मिक सेवासमेत बहिष्कार गरी सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प पारेर आन्दोलनमा उत्रिएको संघका अध्यक्ष डा. मनोजकुमार गुप्ताले बताए। आइतबार नै नेपाल चिकित्सक संघको केन्द्रीय समितिको तर्फबाट अध्यक्ष डा. बद्री रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड र चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेका थिए।

शनिबार दिनभरि नारायणी अस्पतालमा तनावग्रस्त बनेको थियो। शनिबार उपचारका क्रममा अलग-अलग समयमा दुई जना बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा दिनभर तोडफोड र प्रदर्शन गरिएको थियो। चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो।

अस्पतालमा उत्पन्न तनावपूर्ण स्थितिलाई साम्य पार्न र दोषीमाथि कारबाही गर्न पाँच बुँदे सहमति भएको छ। वीरगन्ज महानगरपालिका-२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीका अनुसार उपचारको समयमा ड्युटीमा रहेका २ जना डाक्टर र ३ जना कर्मचारी गरी ५ जनालाई जिम्मेवारीबाट हटाउने सहमति भएको थियो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, वडा अध्यक्ष चतुर्वेदी, सुरक्षा निकायका प्रतिनिधि र मृतकका आफन्तहरूबिच घटनाको छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने लगायतका सहमति भएको हो।

प्रहरीका अनुसार छाती दुख्ने समस्या देखिएपछि वीरगन्ज महानगरपालिका-२५ का राजकुमार पटेल शनिबार बिहान नारायणी अस्पताल भर्ना भएका थिए। सामान्य अवस्थामा भर्ना भएका पटेललाई बिहान ११:३० बजेतिर डाक्टरले मृत घोषणा गरेपछि आफन्तहरू आक्रोशित बनेका थिए।

डाक्टरले उपचारमा लापरबाही गरेको भन्दै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपात गरेका थिए। स्थिति नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय बिर्ताले सामान्य बल प्रयोग गरेको थियो। यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका-६ सिसही बहुवरी निवासी राजेश यादवको पनि उपचारका क्रममा शनिबार दिउँसो २ बजेतिर मृत्यु भएको थियो।

यादवलाई मेडिकल वार्डबाट आईसीयू वार्डमा सार्ने क्रममा अक्सिजन नलगाएर डाक्टरले लापरबाही गरेको भन्दै आफन्तहरू प्रदर्शनमा उत्रिएका थिए। स्थिति थप उग्र बनेपछि पर्सा प्रहरीले लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। अन्ततः स्थानीय प्रशासन, अस्पताल प्रशासन, जनप्रतिनिधि र पीडित पक्ष बिच सहमति भएपछि अस्पतालको अवस्था सामान्य बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *