छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनापछि विद्यालयले आरोपित तीनै जना शिक्षक–कर्मचारीलाई निलम्बन गरेको छ भने सुन्दरहरैँचा नगरपालिकाले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् । उनिहरु विद्यालयका शिक्षक तथा कर्मचारी हुन् । नीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार  सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासा र प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको  र  अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने छ  ।

घटनापछि सुन्दरहरैँचा नगरपालिकाले विज्ञप्ति जारी गर्दै विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा जारी विज्ञप्तिमा आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न विद्यालयलाई निर्देशन दिइएको उल्लेख छ ।

नगरपालिकाको निर्देशनपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले आरोप लागेका प्रदीप भट्टराई, भीमप्रसाद नेपाल र अबिरल मास्केलाई अनुसन्धान नसकिँदासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ । नेपाल संगित प्रशिक्षक हुन् भने मास्के शिक्षक र भट्टराई बसका चालक रहेका छन् ।

यसअघि सामाजिक सञ्जालमा केही छात्राले शिक्षक र कर्मचारीबाट अनुचित व्यवहार भएको दाबी गर्दै अनुभव सार्वजनिक गरेपछि आइतबार नै घटना बाहिर आएको हो । त्यसयता नगर बाल सञ्जाल, कानुन विद्यार्थी समाजलगायत विभिन्न संघसंस्थाले निष्पक्ष छानबिन, पीडितको सुरक्षा तथा दोषी प्रमाणित भए कडा कानुनी कारबाहीको माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *