जुन महिनाको अन्त्यमा पश्चिम युरोपमा आएको तापलहरमा दश हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्र र विश्व स्वास्थ्य संगठनद्वारा समर्थित सञ्जाल युरोमोमोले प्रकाशित गरेको तथ्यांकमा उक्त जानकारी दिइएको हो । मृतकमध्ये नौ हजारभन्दा बढी ६५ वर्ष र सोभन्दा माथिका मानिस छन् ।
युरोमोमोका अनुसार अत्यधिक गर्मीका कारण वृद्धवृद्धामा ‘स्ट्रोक’, मुटु र श्वासप्रश्वाससम्बन्धी रोग बढ्दा ठुलो संख्यामा धेरैको मृत्यु भएको हो । २७ वटा युरोपेली देशमा राष्ट्रिय मृत्युदर तथ्यांकका आधारमा तयार गरिएको तथ्यांकमा जुन २२ देखि २८ सम्म भएका मृत्युबारे विश्लेषण गरिएको थियो । त्यस अवधिमा तापलहर फ्रान्स, स्पेन, बेलायत र छिमेक देशमा चरम सीमामा पुगेको थियो ।
जुन महिनाको अन्त्यमा अत्यधिक गर्मीको लहरले फ्रान्स, स्पेन र बेलायतमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा थप असर देखिएको थियो । त्यतिवेला उच्च तापक्रमका कारण विद्यालय पनि बन्द गरिएका थिए ।
युरोमोमोले तापलहरका कारण भएको अतिरिक्त मृत्युलाई देशका आधारमा छुट्याएको छैन, तर बढी अतिरिक्त मृत्यु मुख्यतः फ्रान्स र बेल्जियममा रेकर्ड भएको छ । बेल्जियमको सार्वजनिक स्वास्थ्य संस्था साइन्सानोका अनुसार गर्मीको लहरको समयमा बेल्जियममा मात्र २००० जनासम्म अतिरिक्त मृत्यु भएको थियो ।
सोमबार प्रकाशित एउटा छुट्टै वैज्ञानिक अध्ययनले मे र जुन महिनाको गर्मीको लहरमा इंग्ल्यान्ड र वेल्समा मात्र गर्मीसँग सम्बन्धित कारणले दुई हजार ७०० जनाको मृत्यु भएको अनुमान गरेको छ । अध्ययन इम्पेरियल कलेज लन्डन, बेलायतको मौसम कार्यालय र ‘लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन’ले मिलेर गरेका हुन् ।
