बाढीले अस्थायी ड्याम भत्काएपछि मेलम्चीको पानी बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बाढीले अस्थायी ड्याम भत्काएपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी मुहानमै बन्द गरिएको छ ।मेलम्ची साइटका प्राविधिकहरुले दिएको जानकारी अनुसार बिहीबार राति ९ बजे सुरुमा पानी धेरै धमिलो आएको थियो । त्यसपछि मुहानमा निर्माण गरिएको अस्थायी ड्यामको संरचनालाई बाढीले क्षति गरेको र  बिहीबार रातिदेखि नै सुरुङमा पानी पठाउन छाडेको   प्राविधिकले बताए ।

सिन्धुपाल्चोकको हेलम्बुमा रहेको मुहान आसपासका क्षेत्रमा बर्षात्‌का कारण बाढी आएको हो । ‘पानीको बहाव घटेको छैन,’ ती कर्मचारीले भने, ‘तत्कालै पानी पठाउने सम्भावना देखिँदैन ।’ मेलम्ची आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता मधु तिमिल्सनाले पानी बन्दको औपचारिक निर्णय नभएको बताए । उनले पानी धमिलो आएको र बाढीको सम्भावना रहेकाले अब के गर्ने छलफल भइरहेको छ ।

०७८ असारको बाढीले मेलम्ची आयोजनाको मुहान पूरै ध्वस्त बनाएका कारण बर्षात्‌मा बर्सेनि पानी बन्द गरिँदै आएको छ । त्यतिबेला हिमाली भेग भेमाथाङबाट अचानक आएको बाढीले हेलम्बुदेखि मेलम्ची र काभ्रेको दोलालघाटसम्म क्षति गरेको थियो । उक्त बाढीपछि मेलम्ची मुहान सार्ने निर्णय भए पनि त्यसको अन्तिम रिपोर्ट तयार नभएको मेलम्ची आयोजनाले जनाएको छ ।

मुहान नबनेका कारण सुक्खा मौसममा मात्र सुरुङबाट पानी काठमाडौं ल्याउने गरिएको छ । यस पटक अस्थायी ड्यामलाई नै क्षति गरेकाले पानी ल्याउन लामो समय कुर्नुपर्ने हुन सक्ने आयोजनाका अधिकारीहरुले बताए । मेलम्चीबाट २६ किमी सुरुङबाट पानी काठमाडौं ल्याउने गरिएको छ । झण्डै अढाइ दशकमा पूरा गरेर ०७७ चैतबाट पानी काठमाडौं ल्याइएकोमा तीन महिनापछि नै बाढीले मुहान बगाएको थियो ।

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण भइरहेको छ । मेलम्चीको पानी ल्याउन बन्द भएपछि त्यसको प्रभाव उपत्यकाको पानी वितरणमा पर्नेछ । त्यस्तै मेलम्ची खोलाको मुहनामा बाढी आएकाबेला नजिकैको रिबर्मा भन्ने सानो खोलाको पानी सुरुमा पठाउने व्यवस्था गरिएको थियो । बर्षात्‌मा पनि उक्त खोलाको पानी काठमाडौं पठाउन सकिने संरचना निर्माण गरिएको थियो । तर बिहीबार रातिबाट उक्त रिबर्मा खोलामा पनि पानी धमिलो आएको छ । अहिले उक्त खाेलाको पानी पनि सुरुङमा पठाउन बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *