विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौँ कुर्दा पनि उपचार नपाएको गुनासो छ । वीर शमशेरले रैतीहरूका लागि निःशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय आकस्मिक कक्षमा उपचार पाउन मुस्किल छ । आकस्मिक कक्षमा जाने बिरामी उपचारका लागि आपत्कालीन अवस्थामा पुग्ने गर्छन् ।
अत्यधिक पेट दुखेपछि सर्लाहीको हरिवनबाट उपचारका लागि काठमाडौँ आएर हेमसागर सुवेदीले वीर अस्पतालको आकस्मिक कक्षमा तीन घण्टा बिताए तर उनले चिकित्सक तथा स्वास्थ्यकर्मीबाट आवश्यक उपचार पाएनन् । अन्ततः पेटको पीडाले छट्पटाइरहेका सुवेदीलाई आफन्तले वीर अस्पतालबाट निकालेर अन्य अस्पताल लैजानुपर्यो ।
हरिवनस्थित नमुना सामुदायिक अस्पतालमा प्रारम्भिक परीक्षण गराउँदा एपेन्डिक्स वा पित्तथैलीमा पत्थरी भएको आशङ्का भएपछि सुवेदीलाई काठमाडौँको वीर अस्पतालमा उपचारका लागि रिफर गरी पठाइएको थियो । अस्पतालले दिएको दुखाइ कम गर्ने औषधीले समेत समस्या समाधान नभएपछि सोमबार बिहान जनकपुरबाट विमानमार्फत उनि काठमाडौँ आएका थिए । तर वीर अस्पतालको आकस्मिक कक्षमा पुगेपछि उपचारभन्दा स्वास्थ्य बिमा अन्तर्गतको टिकट काट्ने प्रक्रिया उनका लागि ठुलो बाधक बन्यो ।
बिरामी हेमसागर सुवेदीकी छोरी राधा सुवेदीका अनुसार आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीले टिकट काटेर ल्याउन भनेपछि उनि टिकट लिन काउन्टरतर्फ गइन । सुरुमा एउटा काउन्टरमा पुगे पनि स्वास्थ्य बिमाको टिकट त्यहाँबाट नकाटिने भन्दै अर्को लाइनमा पठाइएको थियो । स्वास्थ्य बिमाको टिकट काट्ने स्थानमा पुग्दा करिब १५० जना मानिस लाइनमा रहेको र त्यसै समयमा सर्भरमा समस्या आएको जानकारी गराइयो ।
करिब दुई घण्टा लाइनमा बसे पनि टिकट काट्न नसकेपछि उनि पुनः आकस्मिक कक्षमा फर्किनु पर्यो । त्यतिबेला उनका बुबा पेटको असह्य पीडाले छट्पटाइ रहेका थिए । राधाले बिरामीलाई टिकट नभई कसरी उपचार गर्ने भन्ने जवाफ स्वास्थ्यकर्मीबाट पाएपछि आफू थप अन्योलमा परेको सुनाइन । तीन घण्टासम्म पनि चिकित्सकले बिरामीको अवस्था नहेरेपछि सुवेदीले नै ‘यहाँ उपचार हुने देखिएन, मलाई अरू अस्पताल लैजाऊ भनेर भने ।
दिउँसो २ बजे उनलाई वीर अस्पतालबाट निकालेर काठमाडौँ मेट्रो अस्पताल लगिएको थियो । अस्पतालबाट बाहिरिँदा सुरक्षाकर्मीले हातमा लगाइएको क्यानुला खोलेर लैजान आग्रह गरेका थिए । क्यानुला हरिवनकै अस्पतालबाट लगाएर आएको जानकारी गराएपछि अस्पतालबाट बाहिरिएको राधाले सुनाइन ।
बिरामी हेमसागरले पेट दुखेर असैह्य भएको छ । मलाई त यहाँ मार्छन्, एक पटक पनि डाक्टर हेर्न आएनन् भनेपछि अन्य अस्पताल लैजान बाध्य भएको उनिको भनाइ छ ।
काठमाडौँ मेट्रो अस्पतालमा आवश्यक परीक्षण गरेपछि सुवेदीलाई त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । शिक्षण अस्पतालमा थप परीक्षण तथा उपचारपछि उनको एपेन्डिक्सको शल्यक्रिया मङ्गलबार बिहान सम्पन्न भयाे ।
वीर अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएको भनिएको यो घटना एउटा बिरामीको अनुभव मात्र भए पनि आकस्मिक उपचार सेवाको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ । अत्यधिक पेट दुखाइका कारण सर्लाहीबाट उपचारको आशामा काठमाडौँ आएका बिरामीले आकस्मिक कक्षमै चार घण्टा बिताउँदा पनि चिकित्सकीय उपचार नपाउनु र अन्ततः अर्को अस्पताल जानुपर्ने अवस्था आउनु गम्भीर लापरवाही हो ।
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले आकस्मिक अवस्थामा आएका बिरामीलाई आर्थिक अवस्था वा स्वास्थ्य बिमाको प्रक्रियाका कारण उपचारबाट वञ्चित गर्न नमिल्ने बताउदै भन्छन् आकस्मिक उपचारका लागि बिरामीले पहिले बिमाको टिकट काटेर ल्याउनुपर्ने र त्यसपछि मात्र उपचार सुरु गर्ने व्यवस्था उचित नभएको स्पष्ट पारे । बिमाको सर्भरमा समस्या आए पनि आकस्मिक अवस्थामा आएका बिरामीले तत्काल उपचार पाउनुपर्ने उनको भनाइ छ । उनले उपचारमा लापर्बाही भएको हो ? भने त्यस्ता स्वास्थ्यकर्मीलाई सचेत गराइने बताए ।
सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आकस्मिक कक्षमा बिरामी आपत्कालीन अवस्थामै आउने भन्दै उनले बिरामीको तत्काल स्वास्थ्य परीक्षण र आवश्यक उपचार हुनुपर्ने बताए । डा. अधिकारीले वीर अस्पतालमा स्वास्थ्यकर्मीबाट उपचार नगरी बिरामीलाई फर्काइएको पुष्टि भएमा मन्त्रालयले छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालले भने आकस्मिक कक्षमा बिरामीले उपचार नपाउने अवस्था हुनै नसक्ने दावि गरे । घटनाबारे जानकारी गराउँदा उनले बिरामी वा आफन्तले तत्काल आफूलाई जानकारी गराएको भए समस्या समाधान गर्न सकिने बताउदै “उपचार नै नपाउने भन्ने विषय हुँदैन,” डा. नेपालले भने , “मलाई सबै विवरण दिनुहोस्, के भएको रहेछ म बुझ्छु ।”
साभारः सरकारी मुखपत्र गाेरखापत्र ।
