एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बेलायतमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका हुन् ।

बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चाल्र्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ । उनी पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन् ।

यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमवार राजा चाल्र्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए । त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै दुई वर्षअघिभन्दा देश ‘बलियो’ बनेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताए ।

सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा ‘निकै बढेको’ बताए । लेबर पार्टी संयुत्त, अधिराज्य (बेलायत) को तल्लो सदन ‘हाउस अफ कमन्स’मा बहुमतप्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नहम प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री बनेपछि उनले संसदीय निर्वाचनको घोषणा गर्न सक्ने तर अहिलेम्म उनले ताजा चुनावको विकल्प रोज्ने सङ्केत देखाएका छैनन् । बेलायतमा नियमित तालिका अनुसार सन् २०२९ को अगस्ट १५ मा आवधिक निर्वाचन हुनेछ ।बर्नहमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरेका छन् ।

उनी विगतमा सन् २०१० र सन् २०१५ मा गरेर दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए । ग्रेटर म्यान्चेस्टरका पूर्वनगरप्रमुख बर्नहम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन् । बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका बर्नहमले आफू दश वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब ‘एउटा समीक्षा र नयाँ सङ्कल्पको समय’ भएको बताए ।

उनले बेलायतले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको बताएका छन् । उनले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेकोप्रति पनि जोड दिएका छन । “म तपाईँहरूलाई सुन्छु। हामीले पर्याप्त रूपमा राम्रो गरेका छैनौँ र हामी अझ राम्रो हुन आवश्यक छ। हामी हुनेछौँ,” उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *